काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विश्व पर्यटन दिवसको अवसरमा कर्पोरेट नेपालकर्मी फुर्पा शेर्पालाई सम्मान गरेको छ ।
शुक्रबार आयोजित कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उनलाई सम्मानपत्र प्रदान गरेका हुन् । शेर्पाले लामो समयदेखि पर्यटन विधामा लेखन गर्नुका साथै हिमालहरु पनि आरोहण गर्दै आएकी छन् ।
पर्यटन मन्त्रालयबाट सम्मानित हुने अन्य व्यक्ति तथा संस्थाहरुमा ट्रेकिङ एजेन्सीहरुतर्फबाट हिमालयन इन्काउन्टर्स प्रा.लि., ट्राभल एण्ड टुर्सहरुतर्फबाट सीता वर्ल्ड ट्राभल नेपाल प्रा.लि., होटल तथा रिसोर्टतर्फ एभरेष्ट हस्पिटालिटि लि., साहसिक खेलतर्फ हिमालयन स्काइड्राइभ प्रा.लि., एयरलाइन्स कम्पनीतर्फ नेपाल वायुसेवा निगम छन् ।
त्यस्तै, कुटनीतिक नियोगतर्फ नेपालस्थित अमेरिकी दूतावास, सिन्तामणि रिसोर्ट, मुस्ताङ होटल तथा रिसोर्ट, स्वर्गीय होटल व्यवसायी श्यामबहादुर पाण्डे (मरर्णोपरान्त), ट्रेकिङ, होटल तथा सम्पदा संरक्षणतर्फ स्वर्गीय अम्बिका श्रेष्ठ (मरर्णोपरान्त), होटल एशोसियसन नेपाल (हान)का अध्यक्ष विनायक शाह, नेपाल एशोसियन अफ राफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष शिव अधिकारी, पर्वतारोहण क्षेत्रबाट निमा रिन्जी शेर्पा, फुन्जो झाङ्मु लामा, पूर्णिमा श्रेष्ठ छन् ।
त्यस्तै गरेर, हेली रेस्क्युतर्फ छिरिङ पाण्डे भोटे, आङ टासी शेर्पा र क्याप्टेन विवेक खड्का, होमस्टेतर्फ पिप्रहर सामुदायिक होमस्टे ग्राम, ट्राभल एण्ड टुर्सतर्फ रवीन्द्रमान सिंह प्रधान, पत्रकारितातर्फ फुर्पा शेर्पा, चिनियाँ फोटोग्राफर से छुई सानदोङ, र्याफ्टिङतर्फ निमबहादुर मगर, हिन्दी चलचित्रतर्फ उचाइँ चलचित्रका निर्देशक सुरज बर्जत्य, उड्डयनतर्फ बुद्ध एयर, नेपाली चलचित्रतर्फ शाम्भाला चलचित्रका निर्देशक मीनबहादुर भाम छन् ।
कार्यक्रममा सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । उनले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्याइरहेको योगदानको प्रशंसा गरे । यद्यपि यो योगदान सन्तोषजनक भने नरहेको सिंहको भनाई छ ।
उनले आगामी दिनमा पर्यटन क्षेत्रबाट हुने योगदान थप वृद्धि गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताए । नेता सिंहले भने, ‘पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ । कूल ग्राहस्थ उत्पादनमा यो क्षेत्रबाट भइरहेको योगदान अझ कसरी बढाउन सकिन्छ ? त्यसतर्फ लाग्नुपर्ने आवश्यक्ता छ । पर्यटन क्षेत्रमा काम गर्दा परेको अप्ठ्यारो पहिचान गरेर सरकारले हटाउँछ । सहज रुपमा व्यवसाय गर्नसक्ने अवस्था सरकारले बनाउनेछ ।’
कावा प्रधानमन्त्री सिंहले नेपाल साहसिक पर्यटन, ट्रेकिङ, हिमाल आरोहण, स्काई ड्राइभिङका लागि आकर्षक गन्तव्य बन्दै गइरहेको भन्दै यसमा के गर्दा राम्रो हुन्छ ? त्यसमा लाग्नुपर्ने बताए । पर्यटन क्षेत्रमा सक्रिय निजी क्षेत्रले आफ्नो व्यवसाय सञ्चालन गर्नसक्ने अवस्था बनाउनका लागि सरकारले ध्यान दिने पनि उनले बताए ।
फरक सन्दर्भमा सिंहले देशमा परिवारसँगै बसेर आर्थिक जीवन उकास्ने वातावरण बनाउन सरकार लागिरहेको बताए । अस्थिरताका कारण देशमा समस्या देखिएकैले अहिले राजनीतिक स्थायित्वका लागि संसदका दुई ठूला दल मिलेर सरकार बनेको दावी गरे ।