उद्धारको पर्खाइमा रहेका पर्यटकहरुको हेलिकोप्टर फ्लाइट अनुमति दिन प्राधिकरणलाई विभागको अनुरोध

Advertisement

काठमाडौं । पर्यटन विभागले मनास्लु र सोलुखुम्बु क्षेत्रमा उद्धारको पर्खाइमा रहेका पर्यटकहरुको हवाई उद्धारको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टर फ्लाइट अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरेको छ । 

आइतबार विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीको संयोजकत्वमा बसेको पर्यटकको खोज, उद्धार, उपचार तथा अनुगमन निर्देशक समितिको बैठकले पर्यटकहरुको हवाई उद्धारको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टर फ्लाइट अनुमति प्रदान गर्न अनुरोध गर्ने निर्णय गरेको पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले जानकारी दिए ।

Advertisement

साथै मनास्लु र सोलुखुम्बुमा रहेका पर्यटकहरुको अवस्था बुझ्न नेपाल पर्वतारोहण संघको नेतृत्वमा तत्काल अनुगमन गर्ने पनि निर्णय भएको उनले बताए । उनका अनुसार असोज ११ र १२ गतेको अविरल बर्षाका कारण विपद्मा परेका पर्यटकहरुको खोज, उद्धार गर्ने कार्यसा सहयोग गर्ने निकाय र व्यक्तिलाई धन्यवाद दिने साथै उद्धार फ्लाइट गर्दा अनुमति प्राप्त गर्ने प्रकृया झन्झटिलो र लामो समय लाग्ने भएकोले प्रकृया छोट्याउन तथा निषेधित क्षेत्रको सम्बन्धमा पुनरावलोकन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको उनले बताए । 

विपद्मा परेका पर्यटकहरुको तत्काल उद्धार गर्ने कार्यमा सहयोग गर्न स्थानीय सरकार र पर्यटन क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रका छाता सङ्गठनहरुलाई अनुरोध गर्ने तथा विपदमा परेका पर्यटकहरुको उपचारमा सहजीकरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत अनुरोध गर्ने गरेको उनले जानकारी दिए । 
 

Advertisement

Advertisement