केन्द्रीय बैंकको निर्देशनबाट बैंकहरु हैरान, पुराना नोटबाट सुकिला कसरी छान्ने ?

Advertisement

काठमाडौं । दशैंतिहारका लागि यसपटक राष्ट्र बैंकले नयाँ नोट नछाप्दा पुरानै सुकिला नोटले काम चलाउनुपर्ने भएको छ । केन्द्रीय बैंकले छपाई खर्चलाई कारण देखाउँदै यसपटक दशैंतिहारमा पुरानै सुकिला नोटबाट काम चलाउने नीति बनाएको छ ।

सोही नीति अनुरुप केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आफुसँग भएको पुराना नोटबाट सुकिला छान्न र सेवाग्राहीलाई सटही सुविधा दिन निर्देशन गरेको छ । यस्तो नोट अपुग भएमा केन्द्रीय बैंकसँग माग गर्न समेत बैंकले निर्देशन गरेको छ ।

Advertisement

तर, यता बैंक तथा वित्तीय संस्थाहरु भने पुराना नोटबाट नयाँ सुकिला नोट छान्न झन्झट मानिरहेका छन् । राष्ट्र बैंकले आइतबारदेखि सर्वसाधारणका लागि सुकिला नोट सटही सेवा खुला गरेसँगै हामी केही बैंकको काउन्टरमा पुग्यौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको काउन्टरमा पुग्दा एक क्यासियरले दुखेसो पोखे, ‘राष्ट्र बैंकले अनावश्यक झन्झट दियो । अब पुराना नोटको चांङबाट कसरी नयाँ नोट छान्ने ? कसले छानेर बस्ने ?’ 

पहिला पहिला राष्ट्र बैंकले नयाँ नोट छापेर पठाउने गरेको र सटहीका लागि सहज हुने गरेकोमा यस वर्ष पुरानै नोटबाट सुकिला नोट छानेर सटही सुविधा दिन भनेपछि बैंकहरु अनावश्यक हैरानीमा परेको उनले गुनासो गरे । ‘तपाईहरुले सोच्नु भएको होला सुकिला नोट पनि राष्ट्र बैंकले पठाउँछ । तर यसो होइन, हामीसँग भएका पुराना नोटहरुबाट नयाँ छानेर सटही दिन भनिएको हो । यो कति सम्भव होला र’ उनले कर्पोरेट नेपालसँग भने ।

यस्तो गुनासो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मात्र होइन अरु बैंक तथा वित्तीय संस्थाहरुको पनि छ । नेपालकै पहिलो नेपाल बैंक लिमिटेडले पनि सेवाग्राहीलाई पुराना नोटबाट सुकिला छानेर सटही सुविधा दिइरको जनाएको छ । तर, पुराना नोटहरुबाट सुकिला छान्न झन्झट नै भएको बैंकका बजार प्रबन्धक अर्जुन कडेलले कर्पोरेट नेपालसँग बताए । 

‘राष्ट्र बैंकको निर्देशन त मान्नै पर्यो । तर, पुराना नोटबाट सुकिला छान्न निकै झन्झट छ । कतिपय नोटहरु काम नै नलाग्ने झुत्रा छन् । नोट सटही गर्न आउनेहरुले बैंकसँग नयाँ नोट हुन्छ, साटिदिनुस् न भन्छन् । जे जस्तो सुकिला नोट छ हामीले त्यहीँ उपलब्ध गराउने हो । साट्नेले साट्छन् नसाट्नेलाई अब के गर्नु र’ उनले भने । 

null

के केन्द्रीय बैंकले बैंकहरुमाथि सुकिला नोट छान्ने झन्झट दिएकै हो ?

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता तथा सूचना अधिकारी डा.डिल्लिराम पोखरेल बैंक तथा वित्तीय संस्थाहरुलाई सुकिला नोट छान्न र सटही सविधा दिन निर्देशन गरेको स्वीकार्छन् । 

‘पुराना नोटहरुबाट सुकिला नोट छान्न र सटही सुविधा दिन निर्देशन गरेको यो सत्य हो । केन्द्रीय बैंकले यो वर्ष नयाँ नोट नछाप्ने बरु चल्तिमा नै रहेका पुरानै नोटबाट काम चलाउन नीति लिएको छ । यसैले बैंकहरुलाई उपलब्ध नोटहरुलाई फिट गर्न र सटही सुविधा दिन निर्देशन गरिएको हो’ उनले भने । 

पोखरेलका अनुसार बैंकहरुले उपलब्ध पुराना नोटबाट फिट (काम लाग्ने सुकिला) र अनफिट (प्रयोग गर्न नसकिने झुत्रा) नोट पहिला छान्न भनिएको छ । त्यसपछि फिट नोटलाई माग अनुसार सटही गर्न भनिएको छ । तर, काम नलाग्ने झुत्रा नोटलाई केन्द्रीय बैंक पठाउन र थप सुकिला नोट लैजान पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भनिएको उनले बताए । 
केन्द्रीय बैंकले आइतबारदेखि सुकिला नोट सटही सुविधा खुला गरेको छ । असोज १३ गतेदेखि खुला गरिएको नोट सटही सुविधा असोज २२ गतेसम्म जारी रहने केन्द्रीय बैंकले जनाएको छ । 

Advertisement

Advertisement