बाटोको जोखिमका बाबजुद १३ लाख सर्वसाधारणले कसरी छाडे काठमाडौं ?

Advertisement

काठमाडौं । यसपालिको दशैंमा कम्तीमा १८ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको थियो । लामा तथा छोटा दुरीका सडक यात्रा (सार्वजनिक यातायात सेवा) का लागि राम्रो प्रवन्ध गर्न सकार, यातायात व्यवसायी, ट्राफिक प्रहरी लगायत सरोकारवाला निकायहरु तयार थिए । तर, दशैं सुरु हुँदा नहुँदै मुखमै बाढी पहिरोको विपत्ति आइलाग्यो । 

असोज ११ र १२ गते दुई दिन परेको अविरल भारी वर्षाका कारण देशभरको जनजीवन अस्तव्यस्त बन्न पुग्यो । २४५ भन्दा बढीको ज्यान गयो भने सयौं घरबार बिहिन बन्न पुगे । 

Advertisement

यता तीव्र बाढी पहिरोका कारण राजधानीसँग जोड्ने मुख्य राजमार्गहरु अवरुद्ध बन्न पुग्दा दशैंतिहार जस्ता मुख्य चाडपर्व के हुने हो ? अन्योल बनेको थियो । १४ वटा भन्दा बढी राजमार्गमा बाढी पहिरोले क्षति पुर्‍याउँदा दजनौं पक्की पुल अवरुद्ध बेनका थिए ।

null

खासगरी मुख्य दुई राजमार्ग पृथ्वी राजमार्ग र बीपी राजमार्ग बाढी पहिरोका कारण बढी प्रभावित हुन पुग्यो । पृथ्वी राजमार्ग अन्तर्गतको धादिङ स्थित झ्याप्ले खोलामा पहिरोका कारण गाडीहरु पुर्दा चार दर्जन हारहारी यात्रुहरुको मृत्यु हुन पुग्यो भने लामो प्रयासपछि बाटो खुलाउन सफल भयो । तर, यता बीपी राजमार्ग भने हालसम्म अवरुद्ध नैछ । 

बाढी पहिरोले ठाउँठाउँको सडक खण्ड पूर्ण रुपमा बगाउँदा बाटो अवरुद्ध बन्न पुगेको छ । वैकल्पिक मार्गको रुपमा सरकारले तत्काल केहीँ अस्थायी मार्ग बनाएपनि शुक्रबारको सुख्खा पहिरोले फेरि उक्त राजमार्ग अवरुद्ध बन्न पुगेको छ । काभ्रे–सिन्धुली बाटोमा यात्रा नगर्न सरकारले सूचना नै जारी गरेको अवस्था छ । 

बाटोको यस्तो स्थितिले सडक यात्रा यतिबेला निकै जोखिमपूर्ण बन्न पुगेको छ । तर, सडक यातायातको यस्तो जोखिमपूर्ण अवस्थाका बाबजुद पनि मुख्य चाड दशैं मनाउन १३ हजार बढीले राजधानी छोडेका छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले शुक्रबारसम्ममा १३ लाख बढीले उपत्यका छाडेको जनाएको छ । यस वर्ष कम्तीमा १८ लाख सर्वसाधारणले उपत्यका छाड्ने अनुमान गरिएपनि सडकको जोखिमका कारण १३ लाखले मात्र उपत्यका छाडेको महासंघका अध्यक्ष विजय स्वारले बताए । जोखिम मोलेर भएपनि १३ लाख बढीले गाउँको यात्रा गरेको उनको भनाइ छ । 

अघिल्लो वर्ष दशैंका लागि करिब १८ लाखले उपत्यका छाडेका थिए । यसपालि पनि यतै संख्यामा सर्वसाधारणले उपत्यका छाड्ने अनुमान गरिएपनि बाढी पहिरो र सडक जोखिमका कारण सो संख्या घट्न पुगेको स्वारको भनाइ छ ।
 

Advertisement

Advertisement