पक्राउको तयारीपछि रवि लामिछानेको कडा प्रतिक्रिया, ‘सरकार मर्यो, हामीलाई जुठो पर्यो !’

Advertisement

काठमाडौं । सहकारी प्रकरणसँग जोडेर सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउको तयारी गरेको छ । 

प्रहरीले उनलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको छ । अनुमति लिएको खबर सार्वजनिक भएसँगै लामिछानेले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएलगत्तै उनले ठूला दलका नेताहरुतर्फ लक्षित गरेर कडा प्रतिक्रिया लेखेका हुन् । 

Advertisement

अहिले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरी तयारी छ । पक्राउको तयारीपछि उनको पार्टी कार्यालय बनस्थलीमा नेता तथा कार्यकर्ताको चहलपहल बढेको छ । सहकारी ठगीसम्वन्धी संसदीय समितिले सहकारीबाट लामिछानेले ऋण नलिए पनि सहकारीको पैसा उनी पहिला कार्यरत कम्पनी गोर्खा मिडिया नेटवर्कमार्फत दुरुपयोग भएकोले उनी दोषी रहेको तर्क गरेको छ । लामिछानेलाई पक्राउ गर्न सहजीकरणका लागि उनीका पूर्वसाझेदार छविराज जोशीलाई यसअघि नै पक्राउ गरिएको छ । 

लामिछानेको प्रतिक्रियाः 
सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो !!
तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ?? 
तपाइँ विचौलियाको सेवा गरेबापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपिदिनुपर्ने ? 
तपाइँ प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने, मैले ठगीको आरोप खेपीदिनुपर्ने ? 

तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौ अनि तिम्रो  एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने ?
तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनुपर्ने ? 

यति गरेपछी भाटभटेनीको इस्यु मोड्न पनि पाइयो । प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन । तर म कहिले भागेर हिडिन र हिड्दिन पनि । ओलीजी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाइँले  त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो । वाचास्वरुप तपाइँले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो । यो मलाई राम्रोसँग थाहा छ । तपाइँको मन्त्रिमण्डल त्यसको साक्षात प्रमाण हो । तपाइँहरुका दलका नेता रकार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोही जेलमा छन् कोही फरार छन् । तपाइँहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ । अब तपाइँहरुबाट पीडितले न्याय पाउँदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौं । 
ठिक छ, म तपाइँहरुको  दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता ब्यक्त गर्दछु ।

नयाँ पुस्तालाई एक एक गर्दै सक्काउँदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाँडै रसातलमा पुर्याएको यो देशले चाँडै देख्ने छ । शुरूवात तिमीहरुले गर्यौ, अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन् ।

अहिलेलाई सरकार मर्यो हामीलाई जुठो पर्यो । तर मलाई न्यायलयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ । प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला । तपाइँको सभापतिले कसैलाई ठगेको छैन ।

Advertisement

Advertisement