रविलाई पक्राउ गर्दाको असर शेयर बजारमा, नेप्से उच्च अंकले घट्दा ८ अर्बभन्दा बढीको कारोबार

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार उच्च अंकले ओरालो झरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्दाको असर शेयर बजारमा देखिएको हो । 

लामिछाने पक्राउसँगै देशभर विरोधका कार्यक्रम सुरु भएको छ भने सामाजिक सञ्जालमा क्रियाप्रतिक्रिया आइरहेका छन् । राजनीतिक अन्योलता बढेसँगै लगानीकर्तामा सतर्कता देखिएको हो । यद्यपि आज कारोबार रकम भने बढेको छ । 

Advertisement

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का अनुसार आज बजार ४७.४४ अंकले घटेको हो । एक दशमलव ७२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७९७.९१ अंकमा झरेको छ । 

बजार घटेसँगै सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी फाइनान्स समूह ४ प्रतिशतले घटेको छ । 

आज ३५१ कम्पनीका २ करोड ८ लाख ६८ हजार ९ सय १९ कित्ता शेयर कारोबार हुँदा ८ अर्ब १८ करोड २ लाख ६२ हजार ५ सय ७२।१२ रुपियाँ बराबरको कारोबार भएको छ । 

समग्रमा बजार घटे पनि कुथेली बुखरी हाइड्रो र ङादी ग्रुप पावरका लगानीकर्ताले क्रमशः १० र ९।८९ प्रतिशतले नाफा कमाए । 

त्यस्तै इस्टर्न हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरे । 

आज गुडवील फाइनान्सको उच्च कारोबार भयो । उक्त कम्पनीको ४५ करोड ७ लाख १ हजार ६ सय ३०।८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement