अमेरिकाविरुद्धको टी-२० सिरिजमा नेपालको क्लिन स्विप

Advertisement

काठमाडौं । नेपालले अमेरिकाविरुद्धको ३ खेलको टी ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ ।

तेस्रो टीट्वान्टी खेलमा सोमवार ८ विकेटको जित हात पार्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो । नेपालले टी ट्वान्टी आईमा दोस्रो पटक सिरिज क्लिन स्विप गरेको हो ।

Advertisement

यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टी ट्वान्टी आई सिरिज क्लिन स्विप गरेको थियो ।

१ सय ५७ रनको मध्यम लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । 

यसअघि अमेरिकाको ग्रान्ड प्रेरीमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रनको योगफल तयार गरेको थियो ।

नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे ।

नेपालले अमेरिकासँगको सिरिज भने एक खेल अगावै आइतबार नै जितिसकेको छ । पहिलो टी ट्वान्टी आईमा १७ रनले जित हात पारेको नेपालले दोस्रो खेल सुपर ओभरमा जितेको थियो ।

यस सिरिज पछि नेपाली टोलीले अमेरिका ए सँग ५० ओभरको अभ्यास खेल खेल्नेछ । कात्तिक ९ गतेबाट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डको सहभागिता रहनेछ ।

Advertisement

Advertisement