पोखरा । यस वर्षको १४औँ आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि लक्ष्मी हुण्डाइ मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।
सहारा क्लब पोखराद्वारा आयोजित यस प्रतियोगिताअन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबले त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गरी विजेता बनेको हो । मनाङको जितमा सुभास गुरुङले खेलको ४७ औँ मिनेटमा गरेको गोल नै क्लबलाई विजेता बनाउन निर्णायक बनेको थियो ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी मनाङ मस्र्याङ्दी क्लबका विश्वास श्रेष्ठले हिरो स्कुटर, खेल अवधिभर टिकट काटी खेल हेर्ने दर्शकमध्ये गोलाप्रथाद्वारा पोखराको भद्रकाली निवासी प्रकाशकुमार श्रेष्ठलाई एक तोला सुनको सिक्का र एलजी टिभी एयरपोर्ट निवासी गोरख भट्टले प्राप्त गरेका छन् । सर्वाधिक गोलकर्ता मनाङ मस्र्याङ्दीका ओला वालेले २५ रुपियाँ हजार प्राप्त गरेका छन् ।
लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले माघ १४ गते भएको सेमिफाइनल खेलमा झापा–११ र त्रिभुवन आर्मी क्लबले आयोजक सहारा क्लबलाई माघ १३ गते भएको सेमीफाइनल खेलमा पराजित गरी फाइनलमा प्रवेश गरेका थिए ।
उपाधि विजेता मनाङ मस्र्याङदीले रु पाँच लाख एक हजार एक, रनिङ शील्ड तथा खेलाडीहरूले पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै, उपविजेता टिम त्रिभुवन आर्मी क्लबले रु दुई लाख ५१ हजार एक, शील्ड तथा खेलाडीहरूले पदक र प्रमाणपत्र पाएका छन् ।
हिमश्री फुड्स प्रालिका कार्यकारी निर्देशक सूर्यबहादुर केसी, व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीलगायतले खेलाडीहरूलाई नगद पुरस्कार, शील्ड र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
गत माघ ५ गतेदेखि सुरु भएको सो प्रतियोगितामा तीन विदेशीसहित १२ टिमको सहभागिता रहेको थियो । रासस