काठमाडौंः विश्वव्यापीरुपमा डिजिटल भुक्तानीमा प्रयोग हुँदै आएको विटक्वाइनसहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ । विटक्वाइन र ग्राभिटी क्वाइनको नामबाट परिचित यस्ता क्रिप्टोकरेन्सीको कारोबार नेपालमा प्रतिवन्धित छ ।
अनलाइनमार्फत जुवा खेल्नदेखि अवैध कारोबारमा बढी प्रयोग हुने विटक्वानसहित कारोबारमा संलग्नहरु नेपालमा पहिलो पटक पक्राउ परेका हुन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का अनुसार हाल विश्वमा एक हजार एकसयभन्दा बढि यस्ता क्रिप्टोकरेन्सी प्रचलनमा छन् ।
ओपन सोर्स सफ्टवयरको रुपमा सातोसी नाकामोतोको नाममा सन् २००९ मा इन्टरनेटमा विटक्वाइनको सुरु भएको हो । नेपालमा यसको प्रयोग सन् २०१३ तिर भएको अनुमान छ । सन् २००९ मा १० सेन्टमा सुरु भएको विटक्वाइनको कारोबार हाल चार हजार ३९३ डलरसम्म पुगेको छ ।
यसको कारोबार कुनै बैंक वा मध्यस्थकर्ता आवश्यक पर्दैन । कारोबार गर्नेको पहिचान खुलाउन पनि जरुरी हुँदैन । कारोबारमा सेवा शुल्क पनि नलाग्ने र कर पनि तिर्नु नपर्ने सीवाइबीले जनाएको छ । नेपाल राष्ट्र बैंक अनुमतिविपरित यस्ता विटक्वाइन र ग्राभिटी क्वाइन जस्ता क्रिप्टोकरेन्सीको कारोबार अवैध हुन्छ ।
यस्ता क्वाइनको अवैध किनबेच गरी विदेशी विनिमयसमेत कारोबार गर्ने सात जना यही असोज १८ र १९ गते काठमाडौं र चितवनबाट पक्राउ परेका हुन । उनीहरुबाट ल्यापटप र मोवाइललगायतका उपकरण पनि जफत गरिएको जनाइएको छ ।
पक्राउ पर्नेमा सिन्धुली कल्पवृक्ष–४ घर भई हाल बानेश्वर बस्ने बर्ष ३८ को ज्ञानप्रसाद पौडेल, अर्घाखाँची खन–७ घर भई हाल बानेश्वर बस्ने बर्ष ३४ को माधव खनाल, काठमाडौं भाटभटेनीका बर्ष २५ का प्रशान्त शाह, नुवाकोट वेलकोट–५ घर भई हाल कलंकी बस्ने बर्ष २४ की विन्दा ढकाल, सिन्धुपाल्चोक हेलम्बु–७ घर भएका बर्ष ४४ का मिङमार तामाङ, ललितपुर हरिसिद्धि बस्ने दमन बस्नेत र रुपन्देही उपमहानगर–११ क मनिष गिरी रहेका छन् ।
उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार अनुसन्धान र कारवाही हुने प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक जीवन श्रेष्ठका अनुसार अदालतबाट थप म्याद लिएर अनुसन्धान गर्ने काम भइरहेकोले उनीहरुबाट भएको यथार्थ कारोबार पत्ता लाग्ने छ ।