काठमाडौँ। अभ्यास खेलका लागि बेलायत पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा बेलायतको फ्रि फोरेस्टर क्रिकेट क्लबलाई एक सय २९ रनले हराएको छ ।
बुधबार राति सकिएको खेलमा नेपाली टोलीले फ्रि फोरेस्टर क्रिकेट क्लबलाई हराएको हो । नेपालले प्रस्तुत गरेको दुई सय ३६ रनको लक्ष्य पछ्याएको फ्रि फोरेस्टरले २९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर एक सय ६ रन मात्रै जोड्न सक्यो ।
फ्रि फोरेस्टरलाई सस्तैमा समेट्न बिक्रम सोम महत्वपूर्ण रहे । उनले चार विकेट लिए । यस्तै सन्दिप लामिछानेले तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेटको क्षतिमा दुई सय ३५ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ७३ रनको योगदान गरे । यस्तै शरद भेषवाकरले ५०, पारस खड्काले ४०, सागर पुनले २१ रन बनाए ।
नेदरल्यान्ड्ससँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीका क्रममा नेपालले बेलायतका विभिन्नक्लबसँग चार वटा खेल खेल्ने छ ।
साउन ४ गते नेपाल र विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसीबिच वेलायतको लड्र्स मैदानमा खेल हुनेछ । लड्र्समा खेल्न पाउनुलाई नेपाली खेलाडीहरुले आफूलाई भाग्यमानी ठानेका छन् ।