काठमाडौं । मलेसियाको कुचिङमा मंगलबार भएको एएफसी सोलिडारिटी कप फुटबलमा नेपालले ब्रुनाईविरुद्ध जित हात पार्दै समूह विजेता बनेर सेमिफाइनलमा पुगेको छ ।
खेलमा नेपालले ब्रुनाईमाथि ३-० गोलको आकर्षक जित हात पारेको हो । पहिलो हाफको अतिरिक्त समयमा पहिलो गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल थप्न सफल भएको थियो । पहिलो गोल नवयुग श्रेष्ठ गरेका थिए ।
दोस्रो गोल ७१ औं मिनेटमा भरत खवासले गरेका थिए भने ८० औं मिनेटमा नेपालले पाएको पेनाल्टी स्ट्राइकर विमल घर्ती मगरले सफल बनाएका थिए ।
पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको नेपालले ब्रुनाईलाई हराएपछि चार अंकसहित समूह एको विजेता बनेको छ । खेलपछि ब्रुनाईका प्रशिक्षकले आफूहरुले नसोचेको नजिता आएको भन्दै आश्चर्य प्रकट गरेका थिए ।