काठमाडौंः फिफा वरीयता क्रममा नेपाल पाँच स्थान माथि उक्लिएर १८१औं स्थानमा आएको छ । गत साता मलेसियाको कुचिङमा सम्पन्न एएफसी सोलिडारिटी कप जितेपछि नेपालको वरीयतामा सुधार आएको हो ।
उक्त प्रतियोगिताको फाइनलमा नेपालले मकाउलाई पराजित गरेको थियो । मकाउ नेपालभन्दा तीन स्थान पछाडि परेको छ भने दक्षिण एसियामा बंगलादेश, श्रीलंका र पाकिस्तानभन्दा अगाडि नेपाल रहेको छ ।
एफसी सोलिडारिटी कपमा १६ अंक थप्दै नेपालले आफ्नो वरीयतामा केही सुधार ल्याएको हो । दक्षिण एसियाली राष्ट्रहरूमा भारत १३७, अफगानिस्तान १४७, माल्दिभ्स १५४, भुटान १७६ स्थानमा छन् ।
अर्जेन्टिना वरीयताको शीर्षस्थानमा यथावत् छ भने अर्को प्रभावशाली राष्ट्र ब्राजिल दोस्रो छ । जर्मनी तेस्रो स्थानमा झरेको छ । त्यसपछि क्रमसः चिली, बेल्जियम, कोलम्बिया, फ्रान्स, पोर्चुगल, उरुग्वे र स्पेन रहेका छन् ।