डिपिएल क्रिकेटको तयारी पूरा, प्रतियोगिताले नयाँ खेलाडी जन्माउने आशा

Advertisement

धनगढीः भोलीदेखि धनगढीमा आयोजना हुन लागेको देशकै सर्वाधिक राशी पुरस्कार भएको ‘धनगढी प्रिमियर लिग’ (डिपिएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार गरेको पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष शुभाषविक्रम शाहीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए ।

शाहीले सञ्चारकर्मी, खेलप्रेमी, खेलाडी सवैले गरेको योगदानको फलस्वरुप यति ठूलो प्रतियोगिता गर्न सफलता मिलेको बताए । नेपाली क्रिकेट टोलीका कप्तान एवं विराटनगर किंग्सका रणनीतिक खेलाडी पारश खड्काले प्रतियोगिताको आयोजनाले क्रिकेट क्षेत्रमा नयाँ नयाँ खेलाडी जन्मिने भई नेपाली क्रिकेट खेलको बिकासमा योगदान पुग्ने बिश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा प्रतियोगिता अघि आज सम्पूर्ण टोलीका कप्तान र सञ्चालकहरुको उपस्थितिमा प्रतियोगिताको ‘ट्रफि‘ सार्वजनिक गर्न लागिएको जानकारी दिइएको छ ।

धनगढीको संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको अनुभूति हुने गरी पिच र मैदान आकर्षक ढंगले तयार गरिएको छ भने दर्शकहरु बस्नका लागि झण्डै सात हजार क्षमताको अस्थायी ‘प्यारापिट’ निर्माण गरिएको छ ।

प्रतियोगिताका लागि दुई महिनादेखि मैदानको व्यवस्थापन थालिएको थियो । दोस्रो संस्करणको यो प्रतियोगिताले आइसिसीको मान्यतासमेत पाएको छ । धनगढीमा हुन लागेको यो प्रतियोगितालाई अन्तर्राष्ट्रिय उचाइमा पुर्याइदिएको छ जसका कारण प्रतियोगितामा भाग लिने सम्पूर्ण टोलीले उच्चस्तरका अन्तर्राष्ट्रिय खेलाडीलाई प्राथमिकता दिएर टोलीसँग अनुबन्ध गर्न पाएका छन् ।

विभिन्न टोलीमा अनुबन्ध भएका खेलाडी धनगढी भित्रिने क्रम शुरु भएको छ । प्रतियोगितामा भाग लिने सम्पूर्ण खेलाडी र कर्मचारीको बीमा गरिएको आयोजकले जनाएका छन् । खेलको प्रत्यक्ष प्रसारण एपी वान एचडी टेलिभिजन स्ट्रिमिङबाट आइफिलिक्स अनलाइनका साथै डिपिएलको अफिसिएल फेसबुक तथा ट्वीटर पेज र एपमार्फत् प्रसारण गरिने व्यवस्था मिलाइएको छ । मैदानमा ठूलो पर्दाको व्यवस्थाका साथै खेलको पुनःप्रसारण (रिप्ले)को व्यवस्था हुन लागेको छ ।

देशको पहिलो अक्सन र सिटी बेस्ड फ्रेन्चाइजमा आधारित यो प्रतियोगितामा टोली चौराहा धनगढी, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डन्स, विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्ससमेत छ टोलीले भाग लिन लागेका छन् । कूल १९ वटा खेल खेलाइने प्रतियोगिताको विजेताले २५ लाख रुपियाँ, उपविजेताले १० लाख रुपियाँ, तेस्रो हुनेले तीन लाख रुपियाँ र चौथो हुनेले रुपियाँ दुई लाख पाउनेछन् ।

यसबाहेक प्रतियोगिताको ‘म्यान अफ दि सिरिज’को उपाधि पाउने खेलाडीले मोटरसाइकल, गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरको उपाधि पाउनेले गोल्डन बुट र प्रत्येक खेलको ‘म्यान अफ द म्याच’को उपाधि पाउनेले १० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।

महेन्द्रनगर युनाइटेडमा भारतको आइपिएल खेलेका पुनित विष्ट र रणजी प्लेयर पुनित मेहरा सहभागी हुनेछन् । यस्तै, रुपन्देही च्यालेन्जर्समा भारतकै दीपक प्रसाद, ओमानका सुफ्यान महम्मद, सिवाइसी अत्तरियामा भारतका गौरव चितकार र विपिन चन्द, काठमाडौँ गोल्डेनमा भारत रणजी प्लेयर जयकिसन कोल्सावाला र शनि पटेल सहभागी रहेकामा विराटनगर किंग्स र टोली चौराहा धनगढीमा सामेल हुने विदेशी खेलाडी भने सार्वजनिक हुन बाँकी रहेको छ ।

Advertisement

Advertisement

Advertisement