धनगढीः धनगढी प्रिमियर लिग (डीपीएल)–२ क्रिकेट प्रतियोेगिता अन्तर्गत आइतबार भएको पहिलो खेलमा सिवाइसी अत्तरियाले रुपेन्देही च्यालेन्जर्सलाई नौ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । सुरुवाती ब्याटिङ गर्दै रुपेन्देहीले दिएको ६२ रनको लक्ष्य अत्तरियाले सात दशमलव तीन ओभरमा एक विकेटको क्षतीमा भेट्टाएको हो ।
अत्तरियाका लागि गौरव चितकारले ३० रनको योगदा निदएपछि सहज जित निकालेको हो । साथै, अत्तरियाका लागि सुवास खकुरेलले १९, प्रेम तामाङले १४ रन बनाए । रुपेन्देही जितेन्द्र मुखियाले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको रुपेन्देहीले १५.२ ओभरमा सबै विकेट गुमाएर ६१ रन बनाएको थियो । विदेशी खेलाडी सुफ्यानले २० रन जोड्नु बाहेक रुपेन्देहीका अन्य खेलाडीले दोहोरो अंक बटुल्न सकेनन् । विक्रम भुषल र शक्ति गौचन समान ८, दीपक प्रसाद ५, सिद्धान्त लोहनी ५ तथा अमरसिंह रौटेला १ रनमै आउट भए ।
सिवाइसी अत्तरियाका म्यान अफ द म्याच कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । ४ ओभरको स्पेलमा ऐरीले १५ रन खर्चे। यस्तै शुभांकर उरावले ३ विकेट लिए भने कृष्ण कार्की र विपिन चन्द्रले १ विकेट लिए ।