राष्ट्रिय खेलकुदः बाँस्तोलालाई लगातार तीन स्वर्ण, महिला फुटबलको उपाधी सशस्त्रलाई

Advertisement

प्रभाषचन्द्र झा/विराटनगरः सशस्त्र प्रहरी बल (एपिएफ)का पर्शुराम बाँस्तोलाले पूर्वाञ्चलमा जारी सातौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्दै राष्ट्रिय खेलकुदमा लगातार तीन पटक स्वर्ण प्राप्त गर्न सफल भएका छन् । 

विराटनगरस्थित सहिद रङ्गशालामा भएको कराते प्रतियोगिताको पुरुष एकल कातामा बाँस्तोलाले नेपाली सेनाका डम्बरबहादुर आलेमगरलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन । उनले काठमाडाँैमा भएको पाँचौ र धनगढीमा भएको छैठौं राष्ट्रिय खेलकुदमा समेत स्वर्ण पदक प्राप्त गरेका थिए । 

Advertisement

प्रतियोगितामा सुदूरपश्चिमका ललित खत्री र मध्यमाञ्चलका सुमन पुलामी मगरले कास्य पदक प्राप्त गरे । यस्तै, महिलातर्फको एकल कातामा नेपाल प्रहरीकी निर्मला तामाङले मध्यमाञ्चलकी अप्सरा मोक्तानलाई पाखा लगाउँदै स्वर्ण पदक जितिन । सशस्त्रका सरिता श्रेष्ठ र सुदूरपश्चिमका वर्षा साउदले कास्य पदक प्राप्त गरिन । 

महिला फुटबलको उपाधि सशस्त्रलाई

शनिबार महिला फुटबलको फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा पराजित गर्दै स्वर्ण पदकमा कब्जा गरेको छ । सुनसरीको दुहबीस्थित टेलिकमको खेलमैदानमा भएको फाइनलमा दुवै विभागीय टोली निर्धारित समयभित्र गोल गर्न असफल भए । 

सुटिङ

सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत आजदेखि सुटिङ खेल सुरु भएको छ । बैजनाथपुरमा शनिबार भएको महिला पेस्तोलमा नेपाल आर्मीका हेमा चौधरी ३४९ अङ्क ल्याएर प्रथम भइन । त्यस्तै नेपाल प्रहरीका सविता बस्नेत ३४८ अङक ल्याएर द्वितीय र पूर्वाञ्चलका कमला राई ३१९ अङ्क ल्याएर तृतीय हुन सफल भइन ।

त्यस्तै, आजै भएको महिला राइफलतर्फ ३४४ अङक ल्याएर मध्यपश्चिमाञ्चलका शान्ति विष्ट प्रथम हुन सफल भइन । त्यस्तै, तीन सय ३९ अङ्क ल्याएर नेपाल पुलिसका बीना परियार द्वितीय र पूर्वाञ्चलका अमिता श्रेष्ठ २ सय ८६ अङ्क ल्याएर तृतीय भइन ।

कबड्डी

महिला तथा पुरुष कबड्डी प्रतियोगिताअन्तर्गत शनिबार महिलातर्फ चार र पुरुषतर्फ दुई खेलहरू भए । लिग चरणअन्तर्गत महिलातर्फ पहिलो खेलमा नेपाली सेनाको टोलीले पश्चिमाञ्चललाई ६८÷१६ अङ्कले पराजित गरेको थियो ।

त्यस्तै, महिलातर्फकै दोस्रो खेलमा नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई ११/५२ अङ्कले पछि पार्दै विजयी सुरुवात गरेको हो । प्रतियोगिताअन्तर्गत भएको तेस्रो खेलमा पूर्र्वाञ्चललाई २३/३२ अङ्कले पछि पार्दै मध्यामाञ्चल विजयी भएको छ । 

महिलातर्फ चौथो खेलमा मध्यपश्चिमाञ्चललाई २२/४२ अङ्कले पराजित गर्दै सुदूर पश्चिमाञ्चल विजयी भयो । त्यस्तै, पुरुषतर्फ भएको पहिलो खेलमा मध्यमाञ्चलले विभागीय टोली सशस्त्र प्रहरीलाई २१/५७ अङ्कले पराजित गरेको थियो भने सुदूरपश्चिमाञ्चललाई २७/४३ अङकले पराजित गर्दै नेपाली सेना विजयी भएको थियो ।

पुरुष क्रिकेट 

पुरुष क्रिकेटमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् । मोरङको बैजनाथपुरस्थित क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा आर्मीले सुदूरपश्चिमाञ्चलको टोलीलाई ८७ रनले पराजित गर्दै ३ अङ्क जोडेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित २० ओभर ३ विकेटको क्षतिमा २०९ रनको योगफल बनाएको थियो । अर्कोतर्फ सुदूरपश्चिमाञ्चलको टोली निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सक्यो । रोशन नेपालीले अर्धशतक ५० रन बनाए । 

त्यसैगरी, दोस्रो खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चललाई १७ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४६ रन बनाएको थियो भने पश्चिमाञ्चलको टोलीले आठ विकेटमा मात्र १२९ रन बनाउन सक्यो । 

हक्की 
विराटनगरको डिपिएस खेल मैदानमा शनिबार सम्पन्न खेलमा पुरुष हक्कीतर्फ त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिमाञ्चल क्षेत्रले सहज जित हात पारेका छन् । त्यसैगरी, महिलातर्फ भने पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलले विजयी सुरुआत गरेका छन् ।

व्याडमिन्टन
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबार झापाको काँकडभिट्टामा भएको खेलमा व्याडमिन्टन टिम इभेन्टस्तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा प्रवेश गरेका छन् ।

पुरुष टिम इभेन्टसतर्फ सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमाञ्चललाई २–० ले हराउँदै फाइनल प्रवेश गरेको हो । यस्तै शसस्त्र प्रहरीले नेपाल प्रहरीलाई ३–२ अङ्कले हराउँदै फाइनल यात्रा तय गरेको हो । 

यस्तै महिला टिम इभेन्टसतर्फ त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमाञ्चललाई २–० ले हराउँदै फाइनल प्रवेश गरेको छ । यसैगरी शसस्त्र प्रहरीको एपिएफ क्लबले आयोजक पूर्वाञ्चललाई २–० ले हराउँदै फाइनल पुगेको छ । रासस

Advertisement

Advertisement