बागलुङः एक महिनाको अवधिमा विभिन्न प्रकारका गरि बागलुङमा ठूलो पुरस्कार राशिका तीन फुटबल प्रतियोगिता भए । प्रदेशस्तरीय ‘मेयरकप फुटबल’, ‘अन्तर कलेज फुटबल प्रतियोगिता’ र तेस्रो खुला फुटबल प्रतियोगिता ।
‘मेयरकप’ हालसम्मकै ठूलो पुरस्कार राशिको प्रतियोगिता थियो जसका विजेताले नगद दुई लाख २२ हजार २०२ रुपियाँ हात पारे । अन्य दुई प्रतियोगिताको पुरस्कार भने नगद एक–एक लाख रुपियाँको थियो ।
बागलुङको झण्डै ४४ वर्ष लामो फुटबल इतिहासको जगमा आजको स्थिति निर्माण भएको हो । यसलाई खेल क्षेत्रका पदाधिकारीले सुखद मात्र मानेका छैनन् फुटबलको भविष्य सुन्दर बन्नेमा दृढ छन् । लगानी, पूर्वाधार र जनशक्ति अभाव भएपनि फुटबलले गरेको गतिप्रति सन्तुष्ट छन् जिल्ला फुटबल संघका अध्यक्ष रामराज गुरुङ । उनले बागलुङमा फुटबलको राम्रो सम्भावना भएको बताए ।
अध्यक्ष गुरुङले व्यवस्थित फुटबल मैदानलगायतका खेल पूर्वाधारको भने खाँचो रहेको बताए । खेलको विकास स्थानीय सरकारको पनि दायित्वमा पर्ने हुँदा खेल क्षेत्रमा लगानी बढाउनुपर्ने उनको भनाइ थियो । सदरमुकाममा रहेको बाङ्गेचौर खेल मैदानबाहेक अन्य ठाउँमा रहेका फुटबल मैदान मापदण्डमा छैनन् ।
राष्ट्रियस्तरका खेल खेल्न मिल्ने फुटबल मैदानको अभाव रहेको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष धनबहादुर परियारले बताए ।अध्यक्ष परियारले बाङ्गेचौरलाई आधुनिक रंगशालाका रुपमा विकास गर्ने योजना रहेको बताए । “रंगशाला निर्माणको गुरुयोजना बन्दैछ”, अध्यक्ष परियारले भने, “बागलुङको खेलकूदमा यसले ठूलो महत्व राख्छ ।”
पछिल्लो समय रुग्ण अवस्थामा रहेको बाङ्गेचौर खेल मैदानको स्तर सुधार भएको छ । सरकारी सहयोग र निजी क्षेत्रको पहलमा खेल मैदान चौडा गर्ने, सतह मिलाउने, तारबार गर्नेलगायतका काम भएका छन् । मैदानको सुधारपछि प्राय नियमित फुटबल प्रतियोगिता आयोजना भइरहेका छन् । खेलाडी उत्पादनका लागि पनि बाङ्गेचौर खेल मैदानले ठूलो योगदान दिएको छ ।
बागलुङका खेलाडी कमल थापा, आशिष केसीलगायतले ‘ए डिभिजन’ का राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन् । खेलाडीलाई फुटबलमा टिकाउनु मुख्य चुनौती रहेकामा जोड दिंदै खेलकूद विकास समितिका अध्यक्ष परियारले खेलाडीको व्यावसायिक सुरक्षाको सुनिश्चितता हुनुपर्ने धारणा राखे ।