काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले म्याच फिक्सिङ रोक्न तत्काल कानून आवश्यक रहेको बताएका छन् । उनले भने,‘म्याच फिक्सिङको अन्त्य गर्न तत्काल कानून आवश्यक रहेकाले कानून ल्याउनको लागि सरोकारवाला निकाय, सरकार र संसदले विशेष पहल गर्नुपर्ने बताए ।
शेर्पाले अनुशासन कमिटि र एपिल कमिटी गठन गरेर खेलमा रहेका सबैखाले मिलेमतोहरु रोक्ने विश्वास समेत दिलाएका छन् । उनले सबै खेलाडीहरुको गतिविधि नियाँल्ने ताकी उनीहरुले कसलाई भेट्छन् र के गर्छन् ? त्यसको विषयमा पनि जानकारी लिने बताए ।
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष शेर्पाले पछिल्लो समय फूटबलमा ‘म्याच फिक्सिङ’ गरेको आरोप लागेको बताए । फुटबलमा नीतिगत पारदर्शीता आवश्यक रहेकाले हामी अब त्यसैमा केन्द्रित हुने बताइएको छ ।
एन्फामा देखिएको अनियमितता रोक्नको लागि आर्थिक नियामावली जारी गरेर पारदर्शीता कायम गर्ने उनको भनाई थियो । अहिले म्याच फिक्सिङ रोक्नको लागि फुटबलको सर्वोच्च निकाय फिफाले सफ्टवेयर बनाएको उल्लेख गर्दै उनले भने, ‘त्यो सफ्टवेयर मार्फत नेचुरल र अननेचुरल गेम पत्ता लगाउन सकिन्छ, त्यो प्रविधिमार्फतपनि हामी अघि बढ्छौं।’
अध्यक्ष शेर्पाले फूटबल प्रशासनलाई आईटीमा लैजाने पनि विश्वास दिलाए । उनले भने, ‘क्लब दर्तादेखि लिएर खेलाडीहरुको दर्ता पनि अब अनलाईनबाटै गर्छौं, र खेलाडीहरुले क्लब परिवर्तन गर्दापनि अब अनलाईनबाटै गर्नसक्ने व्यवस्था हामी गर्छौं।’
तल्लो स्तरसम्मै खेलको वातावरण निर्माण गर्नको लागि भोलि बस्ने एन्फाको बैठकबाट ४५ जिल्लामा तत्काल खेल प्रशिक्षण केन्द्र खोल्ने र लिग सञ्चालन गर्ने निर्णय गरिने अध्यक्ष शेर्पाले जानकारी दिए ।