एशियाली खेलकूदका लागि बन्द प्रशिक्षण

Advertisement

भीमदत्तनगरः आगामी भदौ २ गतेदेखि इण्डोनेसियामा हुने १८औँ एशियाली खेलकूद प्रतियोगितामा नेपालबाट सहभागी हुने कबड्डी खेलाडीको बन्द प्रशिक्षण कञ्चनपुरको भीमदत्तनगरमा हुँदैछ ।

राष्ट्रिय टोलीका लागि दुई दिनअघि १६ खेलाडी छनोट गरी प्रशिक्षण शुरु भइसकेको कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाटले जानकारी दिए । “बाइस जना पुरुष खेलाडीबाट छनोट गरेर १६ जना प्रशिक्षणमा छन् ।” मुख्य प्रशिक्षक भाटले अर्को चरणमा छनोटपछि १२ जनाको सेट टिम बन्ने बताए ।

एक डेढ महिना भीमदत्तनगरमा बन्द प्रशिक्षणपछि खेलाडीलाई वैदेशिक प्रशिक्षणका लागि भारत पठाउने गृहकार्यसमेत भइरहेको उनले जानकारी दिए । “एशियालीमा हामीले स्तर सुधार्नाका साथै एकाध टिमलाई हराउन सक्छौँ ।” भाटले भने, “त्यहाँको अनुभवले अर्को वर्ष नेपालमा हुने साफ खेलकूदका लागि थप बल हाम्रा खेलाडीमा आउँछ ।” आयोजक इण्डोनेसिया नै कबड्डीको बलियो टोली रहेको बताउँदै उनले एशियाली खेलकूदमा बलिया टोली सहभागी हुने जानकारी दिए ।

जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुरमा कबड्डीसँगै भलिबल, बक्सिङ र कुस्तीको बन्द प्रशिक्षण हुने जानकारी दिए । “हल नपाइए कुस्ती यहाँ नहुन सक्छ ।”

बन्द प्रशिक्षणमा रहेका खेलाडी तथा प्रशिक्षकको आवास तथा खानपिनको व्यवस्थापन राष्ट्रिय खेलकूद परिषद्ले गरेको भट्टले जानकारी दिए । गत फागुनदेखि भीमदत्तनगरका राष्ट्रिय जुनियर महिला कबड्डी खेलाडीको बन्द प्रशिक्षणसमेत भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement