काठमाडौंः पाको यूथ क्लबको आयोजनामा भएको सेकेण्ड मोबाइल फुटसल टुर्नामेन्ट २०१८ मा ओपो नेपालको टिम वान प्रथम स्थान हासिल गर्न सफल भएको छ । टुर्नामेन्टको फाइनल चरणमा ओपो नेपालको टिम वानले ओपो नेपालको टिम टूलाई हराउँदै विजयी भएको हो ।
पुरस्कार राशीको आधारमा नेपालकै सबैभन्दा ठूलो फुटसल टुर्नामेन्टको रुपमा रहेको मोबाइल फुटसल टुर्नामेन्टमा नेपालका प्रमुख मोबाइल कम्पनीहरुको सहभागिता रहेको थियो । उक्त टुर्नामेन्टमा ओपो टिम वानले प्रथम स्थान हासिल गर्दै एक लाख ११ हजार १११ रुपियाँ नगद पुरस्कार साथै मोबाइल फुटसल टुर्नामेन्ट कप प्राप्त गरेको छ ।
त्यसैगरी, ओपो टिम टूले दोस्रो स्थान हासिल गर्दै ५५ हजार ५५५ रुपियाँ नगद पुरस्कारसहित मोबाइल फुटसल टुर्नामेन्ट कप हात पार्न सफल भएको छ । मोबाइल व्यावसायबाट केही समय फुर्सद दिलाउने र व्यावसायीबीच एक आपसमा सम्बन्ध बढाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक पाको यूथक्लबका अध्यक्ष प्रविणमान श्रेष्ठले बताए ।
त्यसैगरी, प्रतियोगिता अवधिभर उच्च स्कोर गर्ने जे एण्ड जे मोबाइलका सरोज तामाङ, बेस्ट गोलकिपरमा दि मोबाइल स्टोरका अशेष श्रेष्ठ, फेयर प्ले टिमको रुपमा भीभो मोबाइललाई पदक तथा सम्मानपत्र प्रदान गरियो । कुल १२ टिमको सहभागिता रहेको उक्त टुर्नामेन्टमा मोबाइल शोरुम, मोबाइल व्यावसायी तथा मोबाइल कम्पनीहरुले सहभागिता गरेका थिए ।