ब्रोनिट्सी, रूसः क्रोयसियासँग बिहीबार भएको विश्वकप खेलमा अर्जेन्टिनाले लज्जास्पद हार ब्यहोरेको र यसका कारण खेलाडीले प्रशिक्षक जर्ज सामपाओलीलाई हटाउन चाहेका भन्ने समाचार आफ्नो समूहविरुद्ध अफवाह फैलाउन रचिएको प्रपञ्चबाहेक केही नभएको अर्जेन्टिनाले जनाएको छ ।
“यो विल्कुल गलत हो,” अर्जेन्टिनी फुटबल समूहका अधिकारीले बताए, “खेलाडीको बैठक र अन्य केहीबारे पनि आएका नकारात्मक खबरहरू भ्रम सिर्जना गर्न गरिएका अनर्गल प्रचारमात्र हुन् ।”
बिहीबारको खेलपछि अर्जेन्टिनाका स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा अर्जेन्टिनाका खेलाडी तथा प्रशिक्षक र प्रशिक्षण समूहका अन्य सदस्यबीच तनाब बढेको र खेलाडीले प्रशिक्षक सामपाओलीलाई हटाउन चाहेको भन्ने समाचारहरू बाहिरिएका थिए ।