काठमाडौंः आउँदो चैत ५ गते रेसनारी नेसनल च्याम्पियनसिप २०१७ मोटो स्कुटर रेसिङ हुने भएको छ । सातदोबाटोस्थित स्वीमिङ पुल कम्प्लेक्समा आयोजना गरिने उक्त रेसिङ च्याम्पियनसिपमा करिब ३० जना महिला राइडरले ११० सिसीको स्कुटर कुँदाउने छन् ।
कार्यक्रममा मोटरसाइकल रेसिङबाहेक जिमखाना प्रिक्स, स्लो राइड कम्पिटिसन, पुस योर बाइक कम्पिटिसन आदि प्रतियोगिता समेत गरिने छन् । प्रतियोगिताका विजयी खेलाडीहरुलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद तथा शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
मोटरसाइकल रेसिङका प्रथम विजेतालाई आगामी वर्ष एसियाली स्तरको रेसिङमा भाग लिन थाइल्यान्ड÷मलेसिया पठाइने छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन क्लबले प्रतियोगिता गर्न लागेको हो ।
युवायुवतीहरुका बीचमा लोकप्रिय यो प्रतियोगिता गत वर्षदेखि सञ्चालन गरिएको हो । आयोजकका अनुसार नेपालको लागि नयाँ, रोमाञ्चकारी र साहसिक मानिने रेसनारी प्रतियोगिता महिला बाइक राइडरहरुलाई लक्षित गरि सञ्चालन गरिएको हो ।