एसीसी इमर्जिङ नेसन्स कपका लागि राष्ट्रिय टिमको घोषणा

Advertisement

काठमाडौंः बंगलादेशमा चैतको अन्त्यबाट सुरु हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) इमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । 

नयाँ टिममा चारजना नयाँ खेलाडी थप भएका छन् भने राष्ट्रिय टिमका चर्चित अनुहार तीव्र गतिका बलर सोमपाल कामी टिमबाट बाहिरिएका छन्। उनी बाहिरिनुको कारण भने खुलेको छैन । 

Advertisement

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का एसियाली विकास निर्देशक बेन्कटपथी राजुको नेतृत्वमा प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ल सम्मिलित छनोट समितिले एसीसी इमर्जिङ नेसन्स कपका लागि नयाँ टिम घोषणा गरेको हो । 

नयाँ टिममा १५ सदस्य छन् । दिलीप नाथ, दीपेश श्रेष्ठ, सुसन भारी र आसिफ सेख राष्ट्रिय टोलीमा पहिलो पटक छिर्ने अवसर पाएका छन्। 

कप्तान पारस खड्काले भने इमर्जिङ नेसन्स कपमा नखेल्ने यसअघि नै जानकारी दिइएको छ । उनको अनुपस्थितिमा टोलीको नेतृत्व उपकप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन्। हालै सम्पन्न केन्याविरुद्घको खेलमा पनि ज्ञानेन्द्रले नै कप्तानको भूमिका निर्वाह गरेका थिए।

इमर्जिङ कपमा टेस्ट टोलीको मान्यताप्राप्त भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका यू–२३ टोलीसहित नेपाल र अफगानिस्तानका राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्नेछन्। 

हङकङ र संयुक्त अरब इमिरेट्स (यूएई)ले अन्तिम समयमा आएर नाम फिर्ता लिएपछि प्रतियोगितामा छ टोलीको मात्रै सहभागिता रहने भएको हो।

 

Advertisement

Advertisement