भक्तपुर । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले सरकार देशको गाउँ÷गाउँमा रङ्गशाला निर्माणको तयारीमा लागेको बताएका छन् ।
नेपाल खेलकूद महासङ्घ भक्तपुरले आज मध्यपुरथिमिको निकोसेरामा आयोजना गरेको प्रथम निकोसेरा जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँले खेलकूदको विकासमा सरकार लागिरहेको बताएका हुन् । उनले भने ,“सरकार गाउँ÷गाउँमा रङ्गशाला निर्माणको तयारीमा जुटेको छ, देशका सबै गाउँपालिका र नगरपालिकामा खेलकूद रङ्गशाला र सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाइनेछ ।”
भक्तपुरमा अन्तर्राट्रियस्तरको रङ्गशाला निर्माणका लागि सरकारले काम अगाडि बढाएको बताउँदै उनले विवाद निम्त्याएर यो अवसरलाई भक्तपुरका बासिन्दाले गुमाउन नहुने बताए । मन्त्री विश्वकर्माले खेलकूदमा लागेर अब खेलाडिले पछुताउनुपर्ने दिन गएको दाबी गर्दै भने , “वर्तमान सरकारले स्वर्णपदक विजेता खेलाडीलाई मासिक रु पाँच हजार र नेपालको ओलम्पियन खेलाडीलाई मासिक रु तीन हजारका दरले जीवनभर सम्मान भत्ता उपलब्ध गराएर वितरण गर्न थालिसकेको छ ।”
सरकारले समृद्ध नेपाल र सुखी नेपाली अभियान शुरु गरेको बताउँदै उनले खेलको विकासले मात्र त्यो सम्भव भएकाले सरकारले खेलकूदका लागि चाहिने आवश्यक वातावरण बनाउनेछ। सरकारले खेलाडीको स्वास्थ्य एवं जीवन बीमा गर्ने प्रबन्ध सरकारले गरिसकेको मन्त्री विश्वकर्माको भनाइ थियो । नेकपाका भक्तपुर अध्यक्ष बचन देउजाले खेलकूदको विकासले नै देशको विकास हुन्छ भन्दै खेलकूद र खेलाडीको विकासमा सरकार लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका उपाध्यक्ष श्यामसुन्दर बस्नेत, महासङ्घ भक्तपुरका उपाध्यक्ष कविराम थापा, निकोसेरा डोजाङका अध्यक्ष महेश प्रजापतिलगायतले जिल्लामा खेलकूदमा युवा र बालबालिकाको आकर्षण बढेको बताए ।