पोखरा । पहिले पटक नेपाल आएको विश्वकप क्रिकेटको ट्रफी अन्नपूर्ण र माछापुछ्रे हिमालको काखमा पुगेको छ । शुक्रबार काठमाडौं आइपुगेको आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफीलाई पोखरा ल्याइएसँगै प्रदर्शन गरिएको छ ।
काठमाडौं ल्याएपछि ट्रफीलाई स्वयम्भुमा सार्वजनिक गरिएको थियो । शनिबार बिहान ट्रफीलाई पोखरा रंगशालाको क्रिकेट मैदानमा सार्वजनिक गरि प्रदर्शनी गरिएको छ । शुक्रबारदेखि पोखरामा भइरहेको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा राष्ट्रिय क्रिकेट खेलाडी विभिन्न टिममा सहभागी छन् ।
ट्रफी सार्वजनिक गर्दा नेपाली क्रिकेट टिमका क्याप्टेन पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, संदीप लामिछानेलगायतका राष्ट्रिय खेलाडीहरु सहभागी थिए । विश्व टुरका क्रममा बंगलादेश हुँदै नेपाल आएको विश्वकप क्रिकेटको ट्रफी नेपालमा एक साता बिताएपछि भारत जानेछ ।
अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा हुन लागेको एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको प्रचार प्रचारका क्रममा ट्रफीलाई पाँच वटा महादेशका विभिन्न मुलुकहरुमा टुर गराउने क्रममा नेपाल पनि रुटमा परेको हो ।