विश्वकप क्रिकेट ट्रफी ल्याउँदा आफूलाई जानकारी नदिएको भन्दै खेलकुदमन्त्री र राखेप सदस्यसचिव रुष्ट

Advertisement

काठमाडौं । खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशरबहादुर विष्टले आफूहरुलाई जानकारी नदिई विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याएको भन्दै असन्तुष्टि पोख्न थालेका छन् ।

उनीहरुले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई जानकारी र अनुमति बिना ट्रफी ल्याएर नचाउने काम गरेको भन्दै सार्वजनिकरुपमा असन्तुष्टि पोखेका हुन । अघिल्लो साता ल्याइएको विश्वकप क्रिकेटको ट्रफी चार दिन नेपालका विभिन्न स्थान घुमाएर भारततर्फ लगिएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)की पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेको संयोजनमा नेपाल आइपुगेको ट्रफी राष्ट्रपति कार्यालयदेखि वसन्तपुर, स्वयम्भु, पोखरालगायतका स्थानमा पुर्याइएको थियो ।

अर्को बर्ष बेलायत र वेल्समा हुन लागेको आइसीसी विश्वकपको १२औं संस्करणको प्रचारप्रसारका क्रममा ट्रफीलाई पाँच वटा महादेशका ६० शहरहरुमा पुर्याउने क्रममा बंगलादेश हुँदै नेपालमा ट्रफी ल्याइएको हो । मन्त्रालय र राखेपले भने आधिकारिक निकाय आफूहरु हुँदाहुँदै कुनै जानकारी नदिई ट्रफी ल्याएर घुमाउने काम भएको बताएका हुन ।

यद्यपि नेपाल प्रहरीले भने ट्रफीलाई सुरक्षा प्रदान गरेको थियो । आइसीसीको आग्रहमा आफूहरुले ट्रफीलाई सुरक्षा दिएको प्रहरीको भनाई छ । यता क्यानले पनि विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याउनेबारे राखेप सदस्य सचिवलाई इमेलमार्फत जानकारी गराएको र खेलकुद मन्त्रीलाई प्रदर्शनस्थलमा सहभागी हुन आग्रह गरिएको जनाएको छ ।

ट्रफीलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी ओलीसम्म पुर्याउने प्रयास गरिए त्यो भने संभव भएन । यद्यपि राष्ट्रपति कार्यालयमा पुर्याइएको ट्रफी राष्ट्रपति विद्या भण्डारीले नै उचालेकी थिइन ।

राखेप सदस्यसचिव विष्टले विश्वकप ट्रफी नेपाल ल्याइएकोबारे राखेपलाई कुनै आधिकारिक जानकारी नदिएको र ट्रफी नेपाल आइसकेपछि एक कार्यक्रममा मौखिक आमन्त्रण गरिएकोले आफू नगएको विभिन्न मिडियामा प्रतिक्रिया दिएका छन् ।

खेलकुदमन्त्री विश्वकर्माका सहयोगी भरत गुरुङका अनुसार ट्रफी ल्याउने विषयमा मन्त्रालयसँग कुनै अनुमति नलिइएनको ट्रफी नेपाल ल्याएपछि मन्त्रीलाई मौखिकरुपमा वसन्तपुरमा आयोजित कार्यक्रममा सहभागी हुन आमन्त्रण गरिएको मन्त्री विश्वकर्माले त्यसलाई अस्वीकार गरेका हुन ।

विश्वकप ट्रफी आउनु नेपालको लागि गर्वको विषय भए पनि ट्रफी ल्याउने विषयमा अनुमति लिनुपर्ने बाध्यकारी कानुन देखिन्न । यद्यपि राखेपका सदस्य सचिव विष्ट र मन्त्री विश्वकर्माले भने यस विषयलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

Advertisement

Advertisement

Advertisement