काठमाडौँ । एन्जल्स हार्ट एकेडेमीलाई पराजित गर्दै ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेपाल पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा एन्जल्स हार्ट एकेडेमीलाई एक सय सात रनले हराएर ग्रेट हिमालयले उपाधि जितेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएका ग्रेट हिमालयनले २० ओभरमा दुई सय २० रन बनायो । उसका लािग हेमन्त श्रीवास्तवले एक सय ६ रनको योगदान दिए । अशोक पौडेलले ३६ रन बनाए । बलिङतर्फ एन्जल्सका लागि श्याम त्रिपाठीले चार तथा विपिन न्यौपानेले तीन विकेट लिए ।
दुई सय २१ रनको विजय लक्ष्य पछ्याएको एन्जल्सले १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय १३ रन मात्र बनाउन सक्यो । उसका लागि दिनेश पुनले सर्वाधिक २१ रन बनाए । विवेक न्यौपानेले १७ रन जोडे । बलिङतर्फ ग्रेट हिमालयका सुशान्त तिमिल्सिना र अशोक पौडेलले तीन तीन विकेट लिए । प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गरेका थिए । रासस