अनलाईन मिडियालाई अरु सञ्चार माध्यमसरह सुविधा दिन सरकार तयार छः मन्त्री कार्की

Advertisement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाईन सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । 

सरकारका प्रवक्ता समेत रहेका कार्कीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा अनलाईन सञ्चार माध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने सरकारको नीतिलाई कार्यान्वयनमा लैजान आवश्यक तयारी गरिरहेको बताएका हुन् । 

Advertisement

अनलाईन सञ्चार माध्यमलाई विश्वासनीय, जवाफदेही र मर्यादित बनाउन पत्रकारहरुलाई आग्रह गर्दै उनले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवि पत्रकारहरुको पक्षमा सधैं दृढतापूर्वक उभिने बताए । 

कार्कीले भने, ‘अनलाईन सञ्चार माध्यमलाई अन्य सञ्चार माध्यमसरह सरकारले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने घोषणा र प्रतिवद्धता व्यक्त गरिसकेको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक तयारी र गृहकार्य गरिराखेको छ । अनलाईन सञ्चार माध्यमलाई जवाफदेही र मर्यादित बनाउन आजको आवश्यकता हो ।’

स्वतन्त्र पत्रकारितालाई प्रवद्र्धन, सम्वद्र्धन गर्ने सवालमा इन्टरनेट वा कुनै माध्यमको आधारमा सरकारले भेदभाव नगर्ने बताउँदै मन्त्री कार्कीले थपे, ‘अनलाईन पत्रकारिताले व्यवसायिक, निष्पक्ष र मर्यादित पत्रकारितालाई अगाडि बढाईरहेको छ । अबको दिनमा पनि यस्तै कार्य अझ परिस्कृत रुपमा अघि बढन सकून भन्ने अपेक्षा गर्दछु । विश्वसनीयता कायम गर्न, जवाफदेहीता कायम गर्न र यसलाई मर्यादित बनाउनका निमित्त तपाईँहरुबाट विशेष पहल हुनेछ भन्ने मैले अपेक्षा लिएको छु । र यसका निमित्त सरकारले र सञ्चार मन्त्रालयले तपाईहरुको साथमा रहेर काम गर्नेछ ।’

मन्त्री कार्कीले मुलुकको विकास र समृद्धिका लागि सञ्चार माध्यामसहित सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताए । उनले मुलुकमा दीगो शान्ति, विकास, सुशासन र समृद्धि भएमात्रै सञ्चार क्षेत्रको भविष्य सुुरक्षित हुने स्पष्ट पारे । 

Advertisement

Advertisement