चिनियाँ विदेशमन्त्रीसँग नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जनायौंः बस्नेत

Advertisement

काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यी र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार भेटवार्ता भएको छ ।

मेरियट होटलमा भएको भेटमा विदेशमन्त्री यीसँगै उनको तर्फबाट प्रतिनिधि मण्डल र प्रचण्डको तर्फबाट माओवादी केन्द्रको प्रतिनिधि मण्डल सहभागी थियो । 

Advertisement

भेटमा माओवादी केन्द्रले बीआरआईलगायतका परियोजनालाई कार्यान्वयनका निम्ति आवश्यक पहलकदमी लिनुपर्ने कुरामा जोड दिएको थियो । सो पार्टीका नेता शक्ति बस्नेतका अनुसार भेटमा दुई देशबीचको व्यापार घाटालाई सन्तुलित बनाउन व्यापार नाकाहरुलाई नियमित गर्न प्रयास बढाउनुपर्ने विषय पनि राखिएको थियो । 

उनले भने, ‘हाम्रो पार्टीको तर्फबाट दुई देशबीचको ऐतिहासिक सम्बन्धहरुको बारेमा, दुई पार्टीहरुकाबीचका सम्बन्धहरुका बारेमा चर्चा भयो । कोभिडको महामारीमा चीन सरकारको तर्फबाट गरिएको सहयोग, नेपालको पूर्वाधार निर्माण लगायतका विकास प्रयासहरुमा चीनका तर्फबाट गरिएका सहयोगका निम्ति धन्यवाद ज्ञापन गर्ने कुरा भयो । त्यसैगरी बीआरआई लगायतका जो परियोजनाहरु छन्, त्यसको कार्यान्वयनका निम्ति आवश्यक पहल बढाउनको निम्ति लिने पहलकदमीको बारेमा चर्चा भयो ।’ 

बस्नेतले थपे, ‘त्यसैगरी दुई देशबीबचको व्यापार पछिल्लो महामारी लगायतका केही सन्दर्भहरुका कारणले व्यापार घाटा बढ्दै गइराखेको सन्दर्भमा त्यसलाई सन्तुलित गर्नका लागि, त्यसमा एउटा सकारात्मक परिणामका निम्ति व्यापार नाकाहरुलाई नियमित गर्ने, सहजीकरण गर्ने र त्यसलाई सन्तुलित गर्नका निम्ति प्रयास बढाउने बारेमा हाम्रो तर्फबाट चर्चा गरियो । र त्यो अनुसार उहाँहरुसँग पनि कुरा भयो ।’

माओवादी केन्द्रले नेपालमा चीन विरोधी गतिविधि हुन नदिन पार्टीको तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने पनि बताएको छ । त्यसैगरी, चिनियाँ पक्षले दुई देशबीचको पूरानो र ऐतिहासिक सम्बन्धको चर्चा गर्नुका साथै माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबिचको सम्बन्धको बारेमा पनि चर्चा गरेको नेता बस्नेतले बताए । 

नेपालको सबै राजनीतिक दलहरुसँग चीनको सम्बन्ध सुदृढ हुँदै गएको कुरा चिनियाँ पक्षले राखेको उनले बताए । बस्नेतले भने,– ‘उहाँहरुले पनि दुई देश बीचको पूरानो र ऐतिहासिक सम्बन्धको, दुई पार्टी बीचको सम्बन्धको बारेमा चर्चा गर्नुभयो । हाम्रो पार्टीको अध्यक्षलाई चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ जनताको एउटा असल मित्रको रुपमा उहाँहरुले चित्रण पनि गर्नुभएको थियो । त्यस अतिरिक्त उहाँहरुले नेपालका सबै राजनीतिक पार्टीहरु सँगको सम्बन्ध सुदृढ हुँदै गइराखेको र राम्रो हुँदै गइराखेको बारेमा चर्चा गर्नुभएको थियो । हाम्रो तर्फबाट वान चाइना पोलिसी र नेपालको भूमि चीन बिरोधी कुनै पनि गतिविधिको निम्ति प्रयोग हुन नदिने, नेपालको तर्फबाट गर्दै आएको प्रतिवद्धताहरुलाई अझ व्यवहारिक रुप दिनको निम्ति पार्टीको तर्फबाट पनि आवश्यक सकारात्मक भूमिका निर्वाह गर्ने बारेमा चर्चा भएको थियो ।’

Advertisement

Advertisement