युक्रेनी शहर बुचामा भएको सामुहिक नरसंहारप्रति युक्रेन रुष्ट, पश्चिमा समुदायबाट पनि निन्दा

Advertisement

एजेन्सी । युक्रेनी नगर बुचामा भएको आमहत्याप्रति युक्रेनले आपत्ति जनाएको छ । सयौंको सामुहिक नरसंहार गरिएको भन्दै अन्तर्राष्ट्रिय समुदायले रुसको आलोचना पनि गरेका छन् । विशेषगरी पश्चिमा राष्ट्रले यस घटनाप्रति कडा आपत्ति जनाएका हुन् । 

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले बुचामा छरिएका कङ्कालको दृश्य निराशाजनक भएको भन्दै घटनाको निन्दा गरेका छन् । जर्मनी, फ्रान्स, ब्रिटेन र नेटोका नेताहरूले उक्त दृश्यबाट स्तब्ध भएको प्रतिक्रिया दिएका छन् । 

Advertisement

बुचा नरसंहारपछि रुसविरुद्ध थप प्रतिबन्धहरू लगाउने युरोपेली आयोगकी प्रमुखले बताएकी छन् । बुचामा सर्वसाधारणहरूको शवहरु शहर र गल्लीहरूमा छाडिएको छ । तीमध्ये कतिपयको हात बाँधिएको छ ।

यता रुसले भने ती तस्वीरको सत्यताबारे प्रश्न उठाउँदै बुचामा ुयुक्रेनी कट्टरपन्थीका उत्तेजनात्मकु कदमबारे छलफल गर्न सुरक्षा परिषद्को आपत्कालीन बैठक डाकिनुपर्ने माग गरेको बीबीसीले जनाएको छ । 

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुस विरुद्धको लडाइँ जित्ने बताउँदै युक्रेनी सर्वसाधारणहरूलाई रुसले निशाना बनाएकोमा निन्दा गरेका छन् । भिडिओ सन्देशमार्फत उनले चार सय भन्दा बढी शवहरू किएभ नजिकैका नगरहरूमा फेला परेको बताएका थिए ।

जेलेन्स्कीले रुसले ती क्षेत्रहरूबाट फिर्ता हुने क्रममा युक्रेनीहरूविरूद्ध नरसंहार गरेको भन्दै रुसी अपराधलाई दण्डित गर्न नयाँ प्रतिबन्धहरू मात्रै पर्याप्त नहुने बताएका छन् । किएभ नजिकैको एउटा युद्ध क्षेत्रबाट रुसी फौजहरू फर्किने क्रममा जथाभावी हत्या गरिएका उनको भनाई छ । 

युक्रेनी विदेशमन्त्रीले रुसी फौजले ुयोजनाबद्ध रूपमा नरसंहार मच्चाएको दाबी गरेका छन्। एउटा अमेरिकी प्रविधि फर्मले बुचामा सामूहिक चिहान पत्ता लगाएको ठाउँमा ४५ फुट गहिरो खाडल रहेको भूउपग्रहका तस्वीरले देखाएको जनाएको छ ।

Advertisement

Advertisement