छैठौं संस्करणको आरबीबी एनभिए भलिबल बैशाखमा

Advertisement

काठमाडौँ । बैशाखमा आयोजना हुने छैठौं संस्करणको आरबीबी­ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब प्रतियोगितालाई राष्ट्रिय बाणिज्य बैकले मुख्य प्रायोजनलाई निरन्तरता दिने भएको छ । 

नेपाल भलिबल संघ र राष्ट्रिय बाणिज्य बैकबीच मंगलबार सम्झौता भएको हो । नेपाल भलिबल संघको तर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्मा र राष्ट्रिय बैकको तर्फबाट बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठबीच सम्झौता भयो । यससँगै बैकले भलिबल संघलाई प्रतियोगिता आयोजनाका लागि १८ लाख रुपियाँ प्रदान गर्ने छ ।  

Advertisement

प्रतियोगिता बैशाख १८ देखि २४ गतेसम्म हुने आयोजक भलिबल संघले पत्रकार सम्मेलनबाट जानकारी दियो । राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा आयोजना हुने लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहने छ । 

पुरुषतर्फ तीन विभागीय टोलीत्रय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोट्र्स क्लब र ढोरपाटन क्लब रहेका छन् । यस्तै महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट माविले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहभागि हरेक टोलीले ३ विदेशी खेलाडी राख्न पाउने छन् ।

आयोजकले भलिबल संघले यस संस्करणमा पुरस्कार राशीमा बृद्धि गरेको छ । प्रतियोगिताको विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५–३५ हजार  पाउँदा व्यक्तिगत विधा तर्फ उत्कष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५÷१५ हजार प्राप्त गर्नेछन् । 
 

Advertisement

Advertisement