मुलधारका पार्टी र नेताप्रतिको वितृष्णाले लिङदेन र स्वतन्त्रको लोकप्रियता बढ्योः आचार्य

Advertisement

काठमाडौं । अर्थविद् एवं राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले स्वतन्त्र उम्मेदवार र राजेन्द्र लिङदेनको लोकप्रियताका कारण नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरु, खासगरी एमालेलाई यस पटक स्थानीय निर्वाचनमा ठूलै धक्का लाग्नसक्ने बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच हुने भए पनि पहिला जस्तो नतिजा उनीहरुको आउने संभावना कम रहेको बताए । आचार्यले भने, ‘जहाँ गठवन्धनले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई दिएको छ, त्यहाँ एमालेलाई सजिलो होला जस्तो छ । कांग्रेस र एमाले भएको ठाउँमा १९–२० को टक्कर छ । मलाई जहाँसम्म लाग्छ एमाले र कांग्रेस नै ठूलो पार्टी होलान । तर स्वतन्त्र र राजेन्द्र लिङदेनको लोकप्रियता निकै बढेकाले दुवैलाई धक्का चाहीं राम्रै लाग्ने देखिन्छ ।’

Advertisement

उनका अनुसार एमाले र कांग्रेसले अढाई सय र तीन सय स्थानीय तहमा जित्नसक्ने तर माओवादी केन्द्रले यसअघि जितेको आधै स्थान गुमाउनसक्ने बताए । नेकपा एकीकृत समाजवादीले भने नगन्य स्थानमा मात्रै जित्नसक्ने आचार्यको अनुमान छ । 

उनले कांग्रेसको उम्मेदवार छनौट प्रक्रिया एकदमै गलत र अलोकप्रिय रहेको बताए । आचार्यले  सो पार्टीको प्रचारप्रसार शैली पनि असाध्यै असंगठित रहेको बताए । कांग्रेसका नेताको लोकप्रियताका कारण नभई सामाजिक आधार बलियो भएकाले मात्रै भोट आउने उनको विश्लेषण छ । यी अलोक्िरयता नेताको मुख हेर्ने हो भने जनतालाई मत हाल्न पनि मन नलाग्ने तर सामाजिक आधारले मात्रै स्थानीय कार्यकर्ताले भोट हाल्ने गरेको आचार्यले बताए । 

उनले भने, ‘उम्मेदवारीप्रति कहीं चित्त बुझाएका छन् । कहीं छैनन् । तर आ–आफ्नो ढंगले प्रचारमा लागेका छन् । एमालेको हेर्ने हो भने संगठन निकै मजबुत देखिन्छ । कांग्रेसको पार्टी संरचनाले कुनै काम गरेको छैन् । विपी, किशुनजी, गणेशमानजीहरुको सम्झिएर, उनीहरुको मुख हेरेर मात्रै भोट हाल्दिैने अवस्था छ गाउँमा ।’

विश्लेषक आचार्यले कम्युनिष्टहरु मौलाउनुमा पनि कांग्रेसका अहिलेको नेतृत्वको अर्कमन्यता र अलोकप्रियता नै हो भने । उनले एक हिसावले हेर्ने हो भने कांग्रेस नेतृत्वबिहीन जस्तो रहेको बताए । आचार्यले आफूलाई राष्ट्रिय नेता भन्ने कांग्रेसका नेताहरुको चुनावमा एकीकृत पहलसमेत नरहेको बताउँदै उनीहरुले आफ्नो निर्वाचन क्षेत्र कसरी सुरक्षित गर्ने ? भनेर राजनीति गर्ने गरेको आरोप लगाए । 

उनले देशभरी नै लिङदेनको पार्टीको अप्रत्यासित चहलपहल देखिएको र स्वतन्त्र उम्मेदवारहरुको पक्षमा पनि जनमत रहेको सामाजिक सञ्जालबाट पनि देखिन्छ भन्दै मुलधारका भनिएका दल र नेताप्रति जनताको वितृष्णाले गर्दा यो अवस्था आएको हो भने । 

आचार्यले दोहोर्याए, ‘तर यिनीहरुलाई यस पटक नसोचेको धक्का लाग्छ । ठूलै चुनौति फेस गर्नुपर्छ ।’ कांग्रेसमा राजा मान्ने कि नमान्ने, कम्युनिष्टसँग मिल्न हुने कि नहुने कुरामा विपीको विचारलाई लिएर आफ्नो अनुकुल व्याख्या गर्ने चलन रहे पनि उनको विचारबाट पार्टी नचलेको धेरैले महशुस गर्न थालेको बताउँदै उनले मुल कुरा कांग्रेसको नेतृत्वमा क्लालिटि नभएर समस्या आएको बताए । जनताको वितृष्णा हुँदाहुँदै देउवा सभापतिमा दोहोरिने, विवादास्पद अनुहारहरु केन्द्रीय नेतृत्वमा पुग्ने, सरकारमा पुगेर पनि जनताको जीवनस्तर सुधार्ने, देश हितका काम गर्नेभन्दा पनि अलोकप्रिय निर्णयहरु गर्ने कुराले कांग्रेसलाई ठूलो नोक्सान पुगेको बताए । 

Advertisement

Advertisement