पाइलटको मोवाइलमा घण्टी बजे पनि जहाज फेला पार्न ढिलाई

Advertisement

काठमाडौं । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको ट्वीनअटर जहाजका पाइलटको मोवाइलमा घण्टी बजेको छ । घण्टी बजे पनि जहाज रहेको ठाउँ भने फेला पार्न खोजी कार्यमा लागेकाहरुलाई कठिन भएको छ । 

तारा एयरको अल्फा इको ट्यांगोु कल साइन भएको विमानका पाइलटको मोबाइलको नेटवर्क चलिरहेकोले त्यही नेटवर्कको ट्रेसिङ गर्दै खोजी कार्य भइरहेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । 

Advertisement

नेपाल टेलिकमको सिम रहेको उक्त टेलिफोनमा नेटवर्कले काम गरिरहेको र ट्रेसिङ गर्दा धावालागिरी हिमाल नजिकै देखाएको छ । बेपत्ता रहेको जहाज खोजी गर्ने काम हवाईमार्ग र स्थलमार्ग दुवैबाट भइरहेको छ । 

पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको जहाज १० बजेपछि सम्पर्कविहीन भएको थियो । जहाजमा क्याप्टेन प्रभाकर घिमिरे, कोपाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापासहित अरु १९ यात्रु रहेका छन् । 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार एकपटक जोमसोम आकाशमा उडेको देखिएको उक्त जहाज धौलागिरि हिमालतर्फ फर्किएको र त्यसपछि सम्पर्कविहीन भएको थियो । 

प्राधिकरणका अधिकारीहरुले मुस्ताङको टिटी लेक वरपर तारा एयरको जहाजको खोजी केन्द्रित गरिएको जनाएका छन् । मौसम खराब भएकाले खोजीका लागि हेलिकप्टर पठाउन कठिन भइरहेको छ । 

Advertisement

Advertisement