प्रेम सुवालको प्रश्न– चुनाव जित्न पैसा र सामान बाँड्नु, भोज खुवाउनु नै प्रजातन्त्र हो ?

Advertisement

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचन आयोगका मुख्यमुख्य पदाधिकारी र न्यायालयमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । 

मंगलबार संसदमा उनले स्थानीय निर्वाचनमा सिन्धुपाल्चोकमा आफ्ना पार्टीका उम्मेदवारले उजुरी दिँदा पनि निर्वाचन चिन्ह मादल नदिएको उल्लेख गर्दै निर्वाचन आयोग र न्यायालयमाथि कारबाहीका लागि सरकारलाई निर्देशन दिन सभामुख अग्नि सापकोटाको पनि गम्भीर ध्यानाकर्षण गराए । 

Advertisement

यस खालको गतिविधिमा संलग्न निर्वाचन आयोगका पदाधिकारी र न्यायालयलाई प्रजातन्त्रको निम्ति पनि कारबाही गर्नुको विकल्प नभएको सुवालको तर्क थियो । उनले भने, ‘निर्वाचन आयोगले गत स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह मादल दिएन । यस विरुद्ध निर्वाचन आयोग र न्यायालयमा हाम्रो उम्मेदवारले उजुरी दिनुभयो । तर, पनि दिइएन । यसकारण निर्वाचन आयोगका मुख्यमुख्य पदाधिकारी र न्यायालयले प्रजातन्त्र खोस्ने काम गर्यो । आवश्यक कारबाही हुनुपर्छ भन्ने कुरा सभामुखमार्फत सरकारलाई निर्देशन हुनुपर्दछ भन्ने माग गर्न चाहन्छु । प्रजातन्त्रको निम्ति यो आवश्यक छ ।’ 

सुवालले थपे, ‘राजनीतिक शास्त्रको पुस्तकमा निर्वाचनमा जित्न पैसा र सामान बाँडने र निर्वाचन आयोगले पार्टीको चनाव चिन्ह नदिनेलाई प्रजातन्त्र भनि परिभाषित गर्नुपर्ने दिन आयो कि ? शब्दकोषमा पनि संयुक्त सरकारको अर्थ भागबण्डा, राजनीति भनेको घुस, पक्षपात भनि फेर्नुपर्ने भयो कि ?’

सांसद सुवालले निर्वाचन जित्न पैसा र सामान बाड्नुपर्ने, भोज खुवाउनुपर्ने अवस्था आउन नदिन पनि सरकारलाई सचेत गराए । 

Advertisement

Advertisement