बञ्चरेडाँडा आज पनि तनाव, ढुंगा प्रहारबाट प्रहरीहरु घाइते, १८ स्थानीय नियन्त्रणमा

Advertisement

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापन गर्ने भनेर बनाइएको नुवाकोटको बञ्चरेडाँडामा फोहोर लैजाने क्रममा बुधबार स्थानीयले ढुंगा हाल्ने अवरोध गरेपछि केही प्रहरी घाइते भएका छन भने डेढ दर्जनभन्दा बढी स्थानीय पक्राउ परेका छन् । 

ढुंगा हान्नेहरुलाई तितरवितर पार्न प्रहरीले केही राउण्ड अश्रूग्यास पनि प्रहार गरेको थियो । स्थानीय जनप्रतिनिधिसँग सोमबार सरकारले लिखित सहमति गरेर मंगलबारबाट नियमितरुपमा बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने सहमति भए पनि स्थानीयले उक्त सहमति अस्वीकार गर्दै आएका छन् । जनप्रतिनिधिले गरेको सहमति आफूहरुले नमान्ने उनीहरुको भनाई छ । 

Advertisement

स्थानीयको मुख्य माग बन्चरेडाँडा क्षेत्रनजिक निश्चित क्षेत्रमा उचित मुआब्जा दिएर जग्गा अधिग्रहण गरिदिनुपर्ने भन्ने देखिन्छ । स्थानीयले काठमाडौं उपत्यकाको फोहोर बोकेका ट्रकलाई रोकेर ढुंगा हाल्न थालेपछि स्थिति तनावग्रस्त भएको छ।

स्थानीयको अवरोधकाबीच दुई वटा ट्रकलाई फोहोर फाल्ने ठाउँमा पठाइए पनि बाँकी ट्रक बीचमै रोक्किएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सक्रियतापछि स्थानीयको माग सम्बोधन गर्न सहमति भए पनि स्थानीयले त्यसलाई अस्वीकार गर्दै अवरोध जारी राखेका हुन् । 

सम्झौताअनुसार बञ्चरेडाडाँमा फोहोर खसालेपछि १५ सेन्टिमिटर अग्गो हुने गरी माटोले पुर्नुपर्ने, दुर्गन्ध हटाउन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सिफारिसमा १० दिनभित्र जैविक उपचारको विधि लागु गर्नुपर्ने, फोहोर संकलन गर्दा त्यसको वर्गीकरण गर्नुपर्ने, बञ्चरेडाडाँमा फोहोर फाल्दा त्यसबाट प्रभावित हुने क्षेत्रका जग्गाजमीन अधिग्रहण प्रक्रिया सुरु गर्नुपर्ने, एक वर्षभित्रमा स्थानीय ५ वटा सडकहरु निर्माण सम्पन्न गर्नुपर्ने, स्थानीय नदी नियन्त्रण, मन्दिर र सामुदायिक भवन निर्माण गर्नुपर्ने तथा वृक्षारोपण गर्नुपर्नेलगायत छन् । 

Advertisement

Advertisement