एसपीपी नेपाललाई काम छैन्, मानवीय सहायताबाहेक अरु नेपाली सेनालाई मान्य हुन्नः शर्मा

Advertisement

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले एसपीपीबारे सञ्चारमाध्यममा आएको डकुमेण्ट सरकारी नभएको दाबी गरेका छन् । शुक्रवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनले सञ्चारमाध्यममा आएको डकुमेण्ट सरकारी नभएको दाबी गरेका हुन् । 

शर्माले नेपाली सेनाले कदापि नेपाली जनताको भावनाबिरुद्ध काम नगर्ने भन्दै नेपालको एकता, नेपाली जनताले बुझेको कुरालाई भ्रम पार्ने हिसावले केही मानिसले उचालेको बताए । उनले एसपीपी कुनैपनि हालतमा नेपाललाई काम नरहेको भन्दै मानवीय सहायता बाहेक सैनय सहायतामा समावेश हुने कुरा नेपाली सेनालाई मान्य नहुने बताए । 

Advertisement

उनले भने, ‘नेपाली सेनाले कदापि नेपाली जनताको भावनाबिरुद्ध काम गर्दैन । यो एसपीपीको डकुमेण्ट सरकारी होइन । हामीकहाँ आएकै छैन । कतैबाट पनि प्रमाणित हुँदैन । नेपालको एकता, नेपाली जनताले बुझेको कुरालाई भ्रम पार्ने हिसावले कोही मानिसले यस्तो गरेको हुनुपर्छ । यसमा हामी सचेत हुनुपर्छ । यो एसपीपी कुनैपनि हालतमा हामीलाई काम छैन, यो हाम्रो लागि पनि मान्य छैन । मानवीय सहायताका लागि मात्रै चिठी लेखेको हो, तर सैन्य सम्झौतामा यो अघि बढाइन्छ भने मान्य हुँदैन, हुन दिँदैनौँ ।’ 

शर्माले नेपाली सेनाले २७ अक्टोबर सन् २०१५ मा एसपीपीलाई लेखेको पत्र भूकम्पका बेलामा मानवीय सहयोगका लागि मात्र लेखिएको बताए । उनले उक्त पत्रमा कुनैपनि सैन्य सम्झौतामा जोडिने कुरा उल्लेख नरहेको भन्दै सैन्य सम्झौतामा जोडिने कुरा नेपाली सेनालाई स्वीकार्य नहुने बताए । शर्माले त्यसपछिका दिनमा पनि दुईवटा चिठी लेखिएको तर उक्त चिठी अमेरिकी सरकारबाट उटा राज्यको स्टेट पार्टनरसिप प्रोग्राममा दिइने फण्डका लागि मात्रै भएको स्पष्ट पारे । 

उनले उक्त फण्डले हालसम्म नेपाली सेनालाई विपद्का बेला आवश्यक पर्ने औजारहरु मात्रै सहयोग गरेको र कुनै गोलीबारुद नदिएको दाबी गरे । शर्माले नेपाली सेनाले नेपालको परराष्ट्रनीतिको बरखिलाफ हुनेगरी कहिल्यै सम्झौता नगरेको पनि बताए । शर्माले तत्कालीन रुपमा एसपीपीको उद्देश्य कुनैपनि सैन्य सम्झौता हुने गरेर नभएको र सन् २०१९ मा आएर इण्डोप्यासिफिक स्टाटेजीसँग मिसिने डरले सरकारसँग यसलाई रिभ्यू गर्नुका लागि औपचारिक चिठी लेखेको पनि बताए । 

प्रधानसेनापति शर्माले नेपाली सेना असंलग्न परराष्ट्रनीतिको बारेमा गम्भीर रहेकोले आगामी दिनमा पनि सैनिक पार्टनरसिप नहोस्, नबनियोस्, हुन नपरोस् भन्ने कुरालाई ध्यानमा राखेर नेपालको परराष्ट्रनीति र छिमेकीलाई ध्यानमा राखेर काम गर्ने बताए । उनले एसपीपीको विषयमा नेपाली सेनाले कुनै सम्झौता नगरेको भन्दै यसलाई अतिरञ्जित नगर्न आग्रह गरे । 

Advertisement

Advertisement