अनुपस्थितिबारे देउवालाई स्पष्टिकरण सोधिने, एसपीपी पनि व्याख्यात्मक घोषणासहित पास हुनसक्ने

Advertisement

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा अनुपस्थित भएको बारे स्पष्टिकरण सोध्ने भएको छ । समितिले अमेरिकासँग हुन लागेको सैन्यसम्वन्धी एसपीपी सम्झौता र अमेरिका भ्रमणबारे सोध्न बोलाउँदा देउवा अनुपस्थित भएपछि स्पष्टिकरण सोध्न लागेको हो । 

यद्यपि समितिले स्पष्टिकरणलाई कारण सोध्नेरुपमा निर्णय गरेको छ । अहिले निकै विवादमा रहेको अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न देउवालाई आइतबार बोलाएकोमा देउवा उपस्थित नभएपछि भीम रावलसहितका समितिका सदस्यहरु रुष्ट भएका थिए भने नेपाली कांग्रेसका साँसदहरुले भने उनको बचाउ गर्ने प्रयास गरेका थिए । 

Advertisement

आजको बैठकमा अन्तिम समयमा प्रधानमन्त्रीको सचिवालयले देउवा उपस्थित हुन नसक्ने जानकारी गराएको थियो । समितिकी सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस भएको बताउँदै प्रधानमन्त्री संसदीय समितिमा अनुपस्थित हुनु प्रजातन्त्र तथा संसदीय प्रणाली प्रतिकुल भएकाले ध्यानाकर्षण गराउने निर्णय गर्ने प्रस्ताव गरिन् ।

कांग्रेसका साँसद र अरु साँसदबीचको विवादपछि समिति सभापति खरेलले निर्णय सुनाउँदै भनिन्, ‘प्रधानमन्त्रीलाई आमन्त्रण गरिएकोमा अन्तिम क्षणमा सचिवालयमार्फत समितिलाई उपस्थित नहुने जानकारी गराउनुभयो । प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गराउने निर्णय गरियो ।’ कांग्रेसका सांसदहरुले भने त्यसमा आपत्ति जनाएका थिए । 

त्यसअघि बैठकमा बोल्दै सभापति खरेलले एमीसीजस्तै एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन भनेर शंका गरेकी थिइन् । उनले भनिन्, ‘एमसीसी व्याख्यात्मक घोषणासहित पारित भयो । एसपीपी पनि ब्याख्यात्मक घोषणा सहित सम्झौता हुने त होइन ? यस्तो आशंका जनताले पनि गरिरहेका छन् ।’

Advertisement

Advertisement