के मन्दिर उर्जाको चार्जिङ स्टेशन हो ?

Advertisement

शिरीषवल्लभ प्रधान
भनिन्छ, ईश्वर यत्र, तत्र, सर्वत्र छ । ईश्वर हाम्रो मन, मष्तिस्कमा छ, पशु, पन्छी, बोट विरुवा, वातावरण जताततै व्याप्त छ । ईशावास्योपनिषद्ले पनि भन्छ:

ईशावास्यमिदं सर्वं यत्किन्चजगत्यांजगत् ।

Advertisement

अर्थात् यो सारा चराचर जगत ईश्वरले व्याप्त छ । तब किन मन्दिरमा गएर ईश्वर उपासना गर्ने ? भन्ने प्रश्न उठ्न सक्छ । कसै कसैले त भन्लान्, ती ढुंगा, माटो वा काठका जड मूर्तीलाई किन पूजा गर्ने ? त्यसले के हुन्छ ?

यहाँनिर स्वामी विवेकानन्दको भनाई स्मरणयोग्य छ । उनी भन्छन्, ढुंगाले बनेको मन्दिर आफै पवीत्र हुंदैन, त्यसलाई हामी जस्तै मानिसहरुले पवीत्र बनाउने हो ।  पतन्जली योगसूत्रमाथि आफ्नो टीप्पणीमा (पृष्ठ ७४) विवेकानन्द लेख्छन्, त्यहां पवित्र तथा महान् आत्माहरु जान्छन्, जसले मन्दिरमा सकारात्मक उर्जा वा तन्मात्रा छर्छन् । तिनीहरुले छर्ने सकारात्मक उर्जाको त्यहाँ जाने सर्वसाधारण मानिसहरुमा प्रभाव पर्छ र उनीहरुमा त्यो उर्जा सञ्चार हुन्छ । पहिले मानिसले मन्दिरलाई पवीत्र बनाउने हो अनि नतिजा स्वयं कारण बन्छ र मन्दिरले मानिसलाई पवित्र बन(ाउँछ, विवेकानन्द लेख्छन्  । यसरी मन्दिरले सञ्चित गरिराखेको उर्जा हामीमा प्रवाहित भएर हामी लाभान्वित हुन्छौं । हामी हरेक दिन जहाँ जहाँ जान्छौं, त्यहाँ त्यहाँ खराव वा असल उर्जा छर्दैजान्छौं । यदि कुनै मन्दिरमा खराव विचार भएका मानिस धेरै संख्यामा गएका छन् भने त्यस्तो मन्दिरमा गएर कुनै लाभ हुँदैन, किनकी त्यहाँ हामी नकारात्मक उर्जा पाउँछौं, विवेकानन्द थप्छन् । पवित्र आत्माहरुको प्रवेशले मन्दिरमा सत्वगुण वा सकारात्मक तरंगहरुको सञ्चार हुन्छ, जसले कम सत्व भएका मानिसहरुलाई लाभ हुन्छ । त्यसैले मन्दिर वा देवताको मूर्ती एक प्रकारले उर्जाको चार्जिङ स्टेशन जस्तै हो, जसबाट हामी विद्युतीय गाडी जस्तै आफूलाई चार्ज गर्न सक्छौं ।

नित्यपूजाको महत्व
हामी घरमा बसेर वा बाहिर मन्दिरमा गएर नित्य ईश्वर उपासना वा पूजा गछौं । त्यसरी दिनहुँ ईश्वरोपासना गर्नुको के तात्पर्य ? भन्ने प्रश्न उठ्न सक्छ । त्यसको अर्थ पनि सरल छ । पृथ्वी, जल, अग्नि, वायु, आकाश, सूर्य, चन्द्र, प्राणीलाई अष्टमूर्ती पनि भनिन्छ । देवताकारुपमा पुजिने यी प्राकृतिक शक्तिको हाम्रो जीवनसँग अन्योन्याश्रित सम्बन्ध छ । तिनीहरुले हाम्रो जीवनलाई सुख, सुविधाले युक्त बनाउनुका साथै हामीलाई चाहिने खाद्य पदार्थ, पोषणतत्व, जल, प्रकाश, ताप, अक्सिजन आदि पुर्याइरहेका हुन्छन् । के ती प्राकृतिक तत्वहरुप्रति कृतज्ञता ज्ञापन गर्नु हाम्रो कर्तव्य हैन ? अवश्य पनि हो । हामीलाई ती प्राकृतिक शक्तिहरुले जुन ऋण बोकाएका छन् त्यो तिर्नु हाम्रो दायित्व पनि हो । यसरी हामी पृथ्वी, जल, वायु, अग्नि, सूर्य, चन्द्र आदि दैवी शक्तिहरुको पूजा, उपासना गरेर तिनीहरुको ऋणबाट मुक्त हुन्छौं । त्यतिमात्र नभई ती विभिन्न देवताहरुको पूजा, आराधनाले हामीमा सकारात्मक उर्जा सञ्चार गराइरहेको हुन्छ । हामीले वातावरणमा जे प्रवाहित गर्छौं, हामीलाई पनि त्यही प्राप्त हुनेगर्छ । यदि हामीले अरुमा दया, प्रेम, क्षमा, मित्रता, सद्भाव प्रवाहित गर्यौं भने हामीमा पनि तिनै सकारात्मक भावना वा उर्जाको वर्षा हुन्छ ।

ईश्वर उपासना अति सरल तरिकाले गर्न सकिन्छ । त्यसमा धेरै तामझाम, तडकभडक गर्न वा अनेक प्रकारका सामग्री जोरजाम गर्न जरुरी छैन् । यसबारे श्रीमद्भागवतमा भगवान् श्रीकृष्णले भन्नुभएको पनि छः

यदि कोही अभक्तले मलाई धेरै सामग्रीहरु चढाएर पूजाआजा गर्छन् भने पनि त्यसलाई म स्वीकार्दिन । तर मेरो भक्तले श्रध्दापूर्वक जलमात्र चढाएछ भने पनि म त्यसलाई प्रेमपूर्वक ग्रहण गर्छु । तसर्थ ईश्वर उपासना साधारण किसिमले गर्ने हो । मुख्य कुरा त्यसमा हाम्रो भावना हुन पर्छ । त्यसमा मनलाई नै चढाउने हो, सामग्री त गौण कुरा हो । 

गीतामा भगवान्ले भन्नुभएको पनि छः
पत्रं पुष्पं फलं तोयं, यो मे भक्त्या प्रयच्छति ।
तदहं भक्त्युप हृत, मश्नामि प्रयतात्मनः ।। (गीता ९.२६)

अर्थात्, जुन भक्तले मेरालागि पत्र, पुष्प, फल, जल आदि सप्रेमले अर्पण गर्दछ, त्यस शुध्दबुध्दि भएका निष्काम भक्तले प्रेमपूर्वक अर्पण गरेका ती पत्र, पुष्प आदिलाई म अत्यन्त प्रेमपूर्वक ग्रहण गर्छु ।

कुन देवताको पूजा गर्ने ?
भनिन्छ, हिन्दूहरुका देवी, देवताहरु असंख्य छन् । तसर्थ भक्तहरु कहिलेकहीं अन्योलमा पर्छन्, कुन देवताको उपासना गर्ने भनेर । तर श्रुति तथा स्मृतिहरुमा भनिएको छ, ईश्वर एउटै छ, तिनका रुप, रंग, नाम चाहीं थरिथरिका छन् ।

भागवतमा भगवान् भन्नुहुन्छः अहं ब्रह्मा च शर्वश्च जगतः कारणं परम् । अर्थात्, जगतका परम् कारण म नै ब्रह्मा र महेश्वर हुँ । आफ्ना त्रिगुणात्मिका मायालाई स्वीकारेर म नै जगत रचना, पालन र संहार गर्छु । विशुध्द परब्रह्मलाई नै जगत सृजना, पालन र संहारका बेग्लाबेग्लै कार्यहरुका आधारमा ब्रह्मा, विष्णु र महेश्वर भनी विभिन्न नामले मानिसहरु पुकार्छन् । 

तसर्थ ईश्वर एउटै हुन्छ र तिनका फरक फरक कार्यहरुले गर्दा मानिसहरुले फरकफरक रुपमा तिनलाई चिन्ने गर्दछ । (भागवत ४.७.५०)

भागवतले एउटै ईश्वरको उपासना गर्ने कुरामा जोड दिँदै भनेको छः संसार सागर पार गर्न चाहने मानिस यद्यपि कसैको निन्दा त गर्दैन न त कसैमा दोष नै देख्छन्, तर घोररुप भएका तमोगुणी, रजोगुणी भैरवादि भूतपतिहरुको उपासना नगरी सत्वगुण भएका विष्णु र उनका अंशकलास्वरुपहरु कै स्तुती गाउँछन् । तमोगुणी, रजोगुणी स्वभावका मानिसहरु धन, ऐश्वर्य र सन्तानका कामना निम्ति भूत, पितर र प्रजापतिहरुको उपासना गर्छन् । यसरी भागवतले सांसारिक दुःखबाट पार पाउन एउटै परमात्माको उपासना गर्नुपर्ने कुरामा जोड दिएको छ ।

समस्त वेद, उपनिषदहरुले औंल्याएको अव्दैत दर्शन विश्वकै सर्वोत्कृष्ट दर्शन मानिन्छ । अव्दैत अनुसार भिन्नाभिन्नै नाम, रुप, आकार, प्रकार भएका समस्त देवताहरु एउटै आत्मा वा परमात्माको स्वरुप हो भने समस्त प्राणीमा त्यही एक आत्माको चेतना व्याप्त रहन्छ । भेद बुध्दिको निन्दा गर्दै भागवतले यस्तो भनेको छः

आत्मनश्च परस्यापि यः करोत्यन्तरोदरम् ।
तस्य भिन्नदृशो मृत्युर्विदधे भयमुल्वणम् ।। (भागवत ३.२९.२६)

जसले आत्मा र परमात्माबीच सानोमात्र पनि भेद देख्छ, ती भेददर्शीलाई म मृत्युरुपले महान् भय उपस्थित गरिदिन्छु । यहाँ वेदहरुमा भनिएको व्दैतमा भय छ र अव्दैतले भय निवारण हुन्छ भन्ने कुरालाई नै दर्शाउन खोजिएको हो । जस्ले अव्दितीय आत्मालाई साक्षात्कार गर्छ त्यसले जन्म, मृत्युरुपी संसारचक्रलाई पार गर्दछ, शास्त्रमा भनिएको छ ।

हिन्दूधर्ममा अनेक प्रकारका देवी देवताहरु भएको हुँदा भक्तलाई एकप्रकारले सुविधा पनि छ । उसले आफ्नो स्वभाव, रुचि र आवश्यकतानुसारको देवता छान्न पाउँछ । तर हामीले अव्दैत भाव अर्थात् सबै देवी देवताहरु एउटै परमात्माको फरक फरक रुप हुन् भन्ने भाव राखेर ईश्वरोपासना गरेको खण्डमा त्यसबाट परम् कल्याण प्राप्त हुन्छ ।

निष्काम भक्ति
ईश्वर भक्ति वा उपासना कुनै भौतिक सुख वा विषयभोगको कामनानिम्ति गरिने हैन । यो त परम् शान्ति वा मुक्तिको निम्ति गरिन्छ । भौतिक सुख, सुविधा क्षणिक र अल्पकालीन हुन्छ ।  भौतिक विषय, वस्तुको निम्ति गरिने भक्ति निम्नकोटीको मानिन्छ । यससम्बन्धमा भगवान् विष्णुले खुसी भएर प्रल्हादलाई के वर माग्छौ माग भन्दा प्रल्हादले भनेको कुरा यहाँ विचारणीय छः

यदि रासीश मे कामान् वरांस्त्व वरदर्षभ ।
कामानां हृद्यसंरोहं भवतस्तु वृणे वरम् ।। (भागवत ७.१०.७)

हे प्रभु, यदि तपाईं मलाई जे माग्यो त्यो वर दिन चाहनुहुन्छ भने त्यस्तो वर दिनुस् कि मेरो हृदयमा कहिल्यै कामनाको वीज अंकुरित नहोस् । वास्तवमा कामनाहरुको पूर्तिले मानिस कहिल्यै सन्तुष्ट हुँदैन, बरु त्यसले नयाँ कामनाको जन्ममात्र हुन्छ र त्यसरी मानिस जन्म, मृत्युको बन्(धनबाट कहिल्यै मुक्त हुँदैन । त्यसैले कामनाहरुबाट छुट्कारा पाउनु नै मुक्तिको मार्गमा पहिलो सिँढी हो भन्ने शास्त्रले बताएको छ । 

मानिसले दुःखमा आत्तिनु हुँदैन र सुखमा मात्तिनु पनि हुँदैन । वास्तवमा दुःखको समयमा नै मानिसले भगवान्लाई सम्झन्छ र ईश्वर पनि दुःखको समयमा नै भक्तमाथि कृपा वर्षाउनुहुन्छ । त्यसैले त कुन्तिले भागवत्मा श्रीकृष्णसँग यस्तो अचम्भको वर मागेको होलाः

विपदः सन्तु नः शश्वत्तत्र तत्र जगद्गुरो ।
भवतो दर्शनं यत्स्यादपुनर्भवदर्शनम् ।।

हे जगद् गुरु, हाम्रो जीवनमा सदासर्वदा पाइला, पाइलामा विपत्तिहरु आइरहोस् । किनभने विपत्तिहरुमा नै निश्चितरुपमा तपार्इं दर्शन दिनुहुन्छ र तपाईंको दर्शनले हामी जन्म, मृत्युको चक्रबाट छुट्कारा पाउनेछौं । जस्तो कि महाभारतमा लाक्षागृहको आगजनीबाट बचाउन, द्रौपदीको चीरहरणको समय, राक्षसहरुले आक्रमण गर्दा र युध्दको समयमा भगवान् आएर पाण्डवहरुलाई बचाएको हामीले सुनेका छौं । 

स्थूलबाट सुक्ष्मतर्फ अघि बढौं 
विकासको क्रममा मानिस स्थूल वा ठोसबाट सुक्ष्मतर्फ अग्रसर भएको हामी पाउँछौं । आध्यात्मिक मार्गमा हिँड्दा पनि हामी स्थूलबाट सुक्ष्मतर्फ अगाडि बढ्नपर्छ । साकारबाट निराकारतर्फ, शब्(दबाट निशब्द वा मौनतातर्फ, सगुणबाट निर्ग‘णतर्फ अगाडि बढ्दपर्छ । त्यसैले त रमण महर्षिले भनेका छन् ः

कायवाङ मनः कार्यमुत्तमम् ।
पूजनं जपश्चिन्तनं क्रमात् ।।

चामल, फूल, अवीर आदि चढाएर शरीरव्दारा गरिने पूजाभन्दा वाक्व्दारा गरिने मन्त्रजप उत्तम मानिन्छ भने मनव्दारा गरिने चिन्तन वा ध्यान सर्वोत्तम मानिन्छ । 
शास्त्रले भन्छ, अरु प्राणीहरुको दुःख प्रति संवेदनशील हुनु र असहाय, दीन, दुःखीहरुको सेवा गर्नु नै असली धर्म हो । प्राणीहरुको सेवा नै धर्म हो भन्दै भगवान्ले भागवतमार्फत यो सन्देश दिनुभएको छः

अहंसर्वेषु भूतेषु भूतात्मावस्थितः सदा ।
त्वमवज्ञाय मां मत्र्यः कुरुतेऽर्चाविडम्वनम् ।।

म आत्मरुपले सबै प्राणीहरुको शरीरमा स्थित छु, तसर्थ जसले सबै प्राणीहरुमा स्थित म परमात्मालाई हेला गरेर केवल प्रतीमामा मात्र पुज्दछ त्यो ढोंगी हो । 

Advertisement

Advertisement