अपर तामाकोशीको हकप्रद पारित गर्न साधारणसभा बोलाइयो

Advertisement

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गते १४औं वार्षिक साधारणसभा बोलाएको छ । सञ्चालक समितिको बैठकले प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो।

सभाले अघिल्लो आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ। सभाले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना महिना सहित चार जना सञ्चालकहरूको निर्वाचन समेत गर्नेछ।

Advertisement

सभाको विशेष प्रस्तावमा पूँजीवृद्धिको विषय छ। कम्पनीको असार ३० गतेकै सञ्चालक समितिको बैठकले पूँजी वृद्धिका लागि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई सभाले अनुमोदन गर्ने कार्यक्रम समेत छ । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले उक्त हकप्रद शेयर निष्काशनको प्रस्ताव १४औं वार्षिक साधारण सभामा पेश गर्ने निर्णय समेत गरेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । कम्पनीले सोही पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. २१ अर्ब १८ करोड पुग्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन १८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा साउन १७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

Advertisement

Advertisement