सल्लाघारीमा रुख ढलेर बस र स्कुटर थिच्यो, तीनको मृत्यु, १२ घाइते

Advertisement

भक्तपुर । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बसलाई थिच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । 

सल्लाघारीमा बाटोमाथिको रुख एक्कासी ढलेर बाटोमा आउँदा सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुर सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । 

Advertisement

काठमाडौँबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको बा२ख ३५८४ नं को बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६१प ३९६८ नंको स्कुटर थिचिएको उनले जानकारी दिए ।  

बसमा सवार दुई र स्कुटरका एक जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा घटिएका प्रत्यक्षयदर्शीले बताएका छन् । बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य घाइते १२ जनाको भने नजिकै रहेको इवामुरा अस्पताल सल्लाघारी, मध्यपुर अस्पताल थिमि र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल कौशलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीले घाइतेको उद्धार गर्ने, घाइतेलाई अस्पताल पु¥याउने, सडकबाट रुख पन्छाएर यातायात सञ्चालन गर्नेलगायत काममा लागेको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक पाण्डेले घाइतेको सङ्ख्या अझै बढ्नसक्ने बताए । मृतक तथा घाइतेको पहिचान भने खुलेको छैन । धेरै वर्ष पुरानो रुख आज दिउँसो १२ बजेपछि चलेको सामान्य हावाले नै ढालेको स्थानीयको भनाइ छ ।

Advertisement

Advertisement