बालेनलाई फेरि चुनौतिः भदौ १ देखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको चेतावनी

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि फेरि चुनौति थपिएको छ । काठमाडौं उपत्यकाको फोहोर बिसर्जन हुँदै आएको नुवाकोटको बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले भदौ १ गते फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । 

बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले बिहीबार पत्रकार सम्मेलन गरी आगामी भदौ १ गतेदेखि डम्पिङ साईट अनिश्चित्कालका लागि बन्द गर्ने चेतावनी दिएको हो । 

Advertisement

फोहोरमैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष सम्वेदनशील क्षेत्रबाट मानव बस्तीहरु अलग गर्नेलगायतका आवश्यक कार्यको प्रारम्भ आगामी साउन ३१ गतेसम्म सुरु नगरे सधैंका लागि बन्द गर्ने चेतावनी दिइएको हो । 

स्थानीय प्रतिनिधि तथा अगुवाले सरकार, राजनीतिक दल, प्रशासनिक तथा न्यायिक निकाय, काठमाडौं महानगरपालिकासमेतलाई अन्तिमपटक अनुरोध गरेको जनाउँदै सरकारले समितिसँग गरेको सहमति विभिन्न बहाना बनाएर षड्यन्त्र गरी कार्यान्वयन नगर्ने नियत बुझिएको बताए । उपत्यकाको फोहोरमैला सिसडोल बञ्चरेडाँडा लैजान सधैंको लागि बन्द गर्ने बाध्यकारी आन्दोलन गर्नुको विकल्प नरेहकोसमेत उनीहरुले बताए । 

महानगरपालिकाले ल्याण्डफिलसाईट प्रभावित क्षेत्रका नागरिकको आमनरसंहार, वातावरण विनास हुनेगरी प्राणघातक फोहोरमैला डम्पिङ कार्य गर्दा स्थानीयले मरेतुल्य अवस्थामा टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै बन्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले आफूहरुको माग पूरा गराउन सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराए । 

उनले बन्चरेडाँडामा मुलुकको राज्य सत्तादेखि लिएर महानगरपालिकाको राज्यसत्ता प्राप्त गर्नेसम्मको मुद्दा बनाएर ५० वर्ष अघिदेखि सिसडोलमा फोहोरमैला व्यवस्थापन गरिँदै आएको स्मरण गराए । ढुंगानाले ओखरपौवा प्रभावित क्षेत्रका जनतालाई प्रभावित बनाएर आम मानिसहरुको नरसंहार गर्ने उद्देश्यले काठमाडौं महानगरले आफूहरुको माग बेवास्ता गरेको आरोप लगाए । उनले आगामी भाद्र १ गतेदेखि सदाको लागि उपत्यकाभित्रका फोहोरमैला अब बन्चरेडाँडा ल्याण्डफिल वा सिसडोल ल्याण्डफिल साइटमा विसर्जन गर्न नदिने चेतावनी दिए । 

ढुंगानाले भने, ‘यसबारेमा फोहोरसँग सम्बन्धित र मन्त्रालय, महानगर सबैलाई दिइसकेका छौं । अब कुनै पनि बहानामा छुट दिँदैनौ । सरकार र सबै १७–१८ नगरपालिकाहरुको अधिकारीहरु, राजनीतिक दलहरु, मन्त्रिपरिषदलाई भन्न चाहान्छु, तपाईंहरुको सत्ता, विरासतको लागि र अभिष्ट पुरा गर्नको लागि नेपाली जनतालाई फोहोरमैलामा चढाउन सकिँदैन् ।’

महानगरले १८ वर्षसम्म ५० अर्ब भन्दा बढी त्यहाँको क्षति बनाइएको भन्दै उनले अब क्षतिपुर्ति दिनुपर्ने समेत माग गरे । ढुंगानाले फेरि पनि विभिन्न बहानामा मुलुकलाई बन्धक बनाइन खोजेको आरोप लगाए । उनले भने,‘आगामी भदौ १ गतेदेखि सरकारी सेता गाडी नुवाकोट र धादिङमा प्रवेश गर्न दिँदैनौ । फोहोरका गाडी पनि छिर्न दिँदैनौं ।’

ककनी वडा नम्बर २ का स्थानीय राजुप्रसाद न्यौपानेले बाटो, शिक्षा, स्वास्थ्यमा विकास हुन्छ भनेर सिसडोलका स्थानीयले फोहोरमैला विसर्जनमा सहमति जनाएको भएपनि स्थानीय जनताको सपनामाथि सरकारले गैरजिम्मेवारीपना देखाएको टिप्पणी गरे । 

काठमाडौं महानगरका मेयर बालेनले पनि सोचेकोजस्तो केही गर्न नसकेको तर्क गर्दै उनले महानगरको परिषदको बैठकले सिसडोलको लागि एक रुपियाँको बजेट पनि नछुट्टाएकोमा आपत्ति जनाए । फोहोरमैलाले गाउँ नै विस्थापित हुने अवस्था आएको न्यौपानेले बताए । 

धादिङका फोहोरमैला प्रभावित स्थानीय मनोज तामाङले सिसडोल र बञ्चरेडाँडाका स्थानीयहरुले निकै दुःख र सास्ती व्यहोर्नु परिरहेको बताए । उनले भने, ‘आजसम्म १७४ पटक आन्दोलन गर्दा पनि कुनै उपलब्धि देखिएन । अब बन्चरेडाँडामा फालिरहेको फोहोरमैला कुनैपनि हालतमा त्यहाँ फाल्नै नदिने निर्णयमा पुगेका छौं ।’ 

संघर्ष समितिका सह–संयोजक सनद उप्रेतीले काठमाडौं उपत्यकामा विभिन्न जिल्लाबाट आएर बसोबास गर्ने ७० लाख जनतालाई सिसडोलदेखि बञ्चरेडाँडासम्म गएर एकपटक हेर्न आग्रह गरेका छन् । उनले स्थानीयहरुमाथि महानगरले अन्याय गर्दै आएको आरोप लगाए । आफूहरुले अघि सारेका माग पूरा नभए आन्दोलन र संघर्षका कार्यक्रमलाई निरन्तरता दिईने पनि उप्रेतीको चेतावनी छ । 

Advertisement

Advertisement