Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको बताएका छन् । शनिवार काठमाडौंको वंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटनका क्रममा उनले फोहोरमैला सामान्य कुरा भएपनि फोहोरमैला भित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको बताए । 

श्रेष्ठले स्थानीय तहले नै अब फोहोरमैलालाई स्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने बताए । उनले स्थानीय तहलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा केन्द्र सहयोगका लागि तयार रहेको बताए । श्रेष्ठँले पर्यटन मन्त्रालयले यी समस्या समाधानका लागि मठमन्दिरहरुमा सरसफाई गर्न राष्ट्रिय अभियान शुरु गर्न लागेको बताए । 

Advertisement

उनले सरसफाईको योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय तहको बीचमा समन्वय आवश्यक रहेको पनि बताए । श्रेष्ठले नाइट टुरिजम व्यवस्थित बनाउन पर्यटकीय स्थल, मठमन्दिर र सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सुरक्षित बनाउन आवश्यक रहेको बताए । 

उनले भने, ‘फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको छ । सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौँ । फोहोरमैला भित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन । फोहोरमैला समाधान गर्नको लागि ठूलो कुरा होइन, ठूलो कुरा बनाइएको छ । त्यहाँ भित्रको गिरोहले । यो समस्या स्थानीय तहले फोहोरमैलालाई स्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ जानुपर्छ । हामी सबै त्यसको लागि सहयोग गर्न तयार छौँ । हामी मठमन्दिरहरुमा सरसफाई गर्न राष्ट्रिय अभियान शुरु गर्दैछौं । त्यहाँबाट नै चेतनाको अभियान शुरु हुनेछ । यी योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय गरेर कामहरु लैजान्छौँ । नाइट टुरिजमको कुरा गरिरहँदा पर्यटकहरुलाई घुमाउने कुरा गर्दा त्यो किसिमको स्थानीय वातावरण तयार गर्नुपर्छ । सरसफाई र हाम्रा सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सुरक्षित बनाउन आवश्यक छ ।’

मन्त्री श्रेष्ठले कतिपय मानिसलाई स्थानीय तह बलियो छ भन्ने कुरा अहिलेसम्म पनि बुझाउन नसकेको बताए । उनले सिंहदरबारबाट स्थानीय तहमा अधिकार सरिसकेको कुरा बुझाउन आवश्यक रहेको बताउँदै उनले स्थानीय जनसमुदायको पनि सक्रियतामा कमी भएकोले यसलाई जगाउन आवश्यक रहेको बताए । श्रेष्ठले केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री श्रेष्ठबीच भेटवार्ता भएको थियो । 

Advertisement

Advertisement