गोरु नांगो देख्दा मलाई लाज लाग्दैन भनेको थिएँ, तर यस पल्ट त गोरु पनि लजायोः केपी ओली

Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गरेको टिप्पणी गरेका छन् । 

तुलसीलाल अमात्य स्मृति दिवसको कार्यक्रममा मंगलबार उनले ‘गोरु नांगो देख्दा आफूलाई लाज लाग्दैन’ भनेर विगतमा आफूले भनेको उल्लेख गर्दै शर्मालाई फेरि अर्थमन्त्री बनाउँदा भने ‘गोरु नै लजाएको’ बताए । 

Advertisement

शर्माको अर्थ मन्त्रालयको पुनरागमनले नेपाली जनताको विवेक र नैतिक धरातलमाथि भीषण हमला भएको बताए । भ्रष्टचारको मुद्दामा मुछिएका शर्मालाई लाजसरम नमानी अर्थमन्त्री फेरि बनाएको उल्लेख गर्दै ओलीले शर्माबाहेक अरु कोही पनि मान्छे गठबन्धनमा अर्थमन्त्री हुन लायक नभएको बताए । 

उनले भने, ‘भ्रष्टचारको केश लाग्या छ । छानवीन समिति आफ्नै बहुमत राखेर बनाएको छ । छानविन गर्न दिएकै छैन् । छानविन भएकै छैन् । कल डिटेल्स हटाएको छ । अनि सीसीटीभी फुटेज मेटाइएको छ । रिभाईभ गर्दा देखिँदैन । बुझिदैन । अनि सफाई पायो । कहाँबाट पायो सफाई ?’ 

ओलीले थपे, ‘अनि फेरि अचम्मत के भने– लाजसरम नमानी, नेपाली जनतालाई कति साह्रो हेपेको । नेपाली जनताको विवेक, नेपाली जनताको नैतिक धरातलमाथि कत्रो हमला ? गोरु लजाउन्न क्यारे । तर गोरु पनि लजायो । यति निर्लज्ज तरिकाले हुन्छ ? फेरि उही मान्छे, भनेपछि यो गठबन्धनसँग अरु मान्छैनै रहेनछ । कत्रो दम्भ ? जे गरे पनि हुन्छ हामीले ? हामीसँग बहुमत छ जे गरे पनि हुन्छ ! लाजसरम किन मान्ने ? कसैलाई किन टेर्ने ? लोकलाज किन मान्ने ? काँग्रेसको भनाई । फुटेज किन देखाउने ? कल डिटेल किन हेर्ने ।’

अध्यक्ष ओलीले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै काँग्रेसलाई प्रमुख पार्टी बनाउने दुष्ट उद्देश्य राखेकाहरुसँग गठबन्धन तोडेर आएमात्रै एकता हुन सक्ने दोहोर्याए । उनले नेकपा (माले)का महासचिव सिपी मैनालीलाई पार्टी एकताका निम्ति आउन आह्वान समेत गरे । 

दुष्टहरुले चुनावी तालमेलको कुरा गरिरहेको भन्दै उनले आफूहरु भने पार्टी एकता नै गरेर अघि बढनुपर्ने प्रस्ताव गरे । देश र जनताको विरुद्धमा नगएकाहरुबीच एकतावद्ध भएर मुलुकलाई अघि बढाउनुपर्ने उनको भनाई थियो । 

ओलीले भने, ‘अघि सिपीजीले भन्नु भयो नि–देशको सबैभन्दा ठूलो पार्टी, झण्डै दुई तिहाईको पार्टी थियो,उसलाई फुटाएर, कमजोर पारेर, अदालतमा मुद्दा हालेर परमादेशबाट सरकार गिराएर दक्षिणपन्थी सरकार बनाउने, कम्युनिष्ट पार्टी सिध्याउन, बामपन्थी पार्टी सिध्याउनका लागि गठजोड गर्ने । अनि एमाले प्रमुख पार्टी छ, त्यस ठाउँमा काँग्रेसलाई पुर्याउनु पर्छ भनेर प्रमुख पार्टी काँग्रेसलाई बनाउन लाग्ने अनि बामपन्थी छु भन्ने । त्यही भएर अस्ती मैले केही दिन अगाडि बोल्दाखेरी भनेको थिए–बामपन्थी कोही छौं भने कम्युनिष्ट पार्टी सिध्याउने दुष्ट उद्देश्य एकदम सही भन्नु भयो सिपीजीले ।’ 

अहिले काँग्रेस बडो लोकतान्त्रिक र क्रान्तिकारी भएको बताउँदै नेता ओलीले भने, ‘मैले एउटा हाजिरीजवाफ जस्तो पुष्पकमल दाहालको अन्तरवार्ता हेरेको थिए, फलानो नेता यस्तो, फलानो नेता त्यस्तो भनेको । सबैलाई अलिअलि आलोचना, निन्दा गरेको थिए । गठबन्धनका नेताहरुलाई पनि माधव नेपाल कस्तो, अराजनीतिक प्राविधिक । झलनाथ कस्तो कुरा गर्नै अल्छी । शेरबहादुर कस्तो ? अत्यन्तै व्यवहार कुशल, यस्तो त मान्छे नै भेटिदैन भने । यो प्रचण्डको हाजिरी जवाफ । तपाईंहरु पनि यूटुवहरुमा गएर हेर्न सक्नुहुन्छ । यस स्थितिलाई नेपाली जनताले तोडनु पर्दछ ।’ 

दुष्ट आशय बोकेकाहरुसँग पार्टी एकता गर्न नसकिने स्पष्ट  पार्दै उनले नेता सीपी मैनालीको पार्टीसँग एकता गर्न आफूहरु तयार रहेको बताए । उनले  भने, ‘यही ठूलै भाडामा पकाएको ढिँडो खाउन । फेरि यत्रो भाडो के गुजुगुजु पकाइरहनु पर्यो । म आह्वान गर्छु । आग्रह गर्छु साथीहरुलाई– आउनुहोस् सँगै मिलेर काम गरौं । यत्रो चुनौति प्रतिक्रियावादीहरुले दिइराखेका छन् । अनि के हामीलाई उनीहरुको जस्तै चुनावी तालमेल मात्रै गर्ने हो र ? सिपीजी र म एउटा आन्दोलनबाट आएका । एक अर्कालाई बहुत राम्रो चिन्दछौं । जुँगाका रेखी बस्दादेखि नै चिनेको । हामी एउटै आन्दोलनबाट पनि आएको । अलग बस्नुपर्ने कारण नै छैन् । हामी कोही पनि देशका विरुद्ध छैनौं । जनताका विरुद्ध छैनौं । प्रगतिका विरुद्ध छैनौं । सुशासनका विरुद्ध छैनौं । विकासका विरुद्ध छैनौं । एकताका आधार यिनै हुन । अरु साना के के जाति निकालेर नि केही नगरौं । एकतावद्ध भएर अघि बढौं ।’ 

Advertisement

Advertisement