महानगरका सबै शिक्षक र कर्मचारीलाई तत्काल दलीय आवद्धता त्याग्न बालेनको निर्देशन

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरअन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय संगठनमा लाग्न नदिने भएका छन् । 

उनले सबै शिक्षक र कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिँदै नत्यागी कारवाही गर्ने चेतावनी दिएका छन् । दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता लिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थालाई अपिल गर्दै बालेनले भनेका छन्, ‘राजनीतिक आबद्धता कायम राखेको भएमा काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आबद्धता तत्काल त्याग गरी कानुनको परिपालना गर्न यसै विज्ञप्तीमार्फत् सूचित गरिन्छ ।’

Advertisement

उनले दलसँगको आबद्धता त्याग नगरे सार्वजनिकरुपमा उजुरी आहृवान गरी वा अन्य उपायबमोजिम प्राप्त सूचनाको आधारमा कानुनी कारबाही अगाडि बढाउने नीति अख्तियार गरिने बताएका छन् । 

काठमाडौं महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७ को दफा ४५ ले महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था रहेको उल्लेख गर्दै बालेनले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग)ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था पनि रहेको औंल्याएका छन् । 

बालेनले आफ्नो विज्ञप्तिमा उक्त कानुन कार्यान्वयन गर्न अजित भण्डारीविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत भएको मुद्दामा उच्च अदालत पाटनले परमादेश समेत जारी गरेको भन्दै कानुनी व्यवस्था तथा उच्च अदालत पाटनको आदेशको परिपालना गर्नु गराउनु काठमाडौं महानगरपालिकाको साथसाथै प्रत्येक राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्था तथा महानगरपालिकाअन्तर्गतका शिक्षक तथा कर्मचारीको पनि दायित्व रहेको रहेको बताएका छन् । 

Advertisement

Advertisement