ओलीको प्रश्न– देश अधोगतितिर लैजाने, देश लुट्नेले राजीनामा दिनुनपर्ने, राष्ट्रपतिले पर्ने ?

Advertisement

ललितपुर । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले नागरिकता विधेयक नागरिकता समस्या समाधान गर्न नभई पाँच दलीय गठबन्धनले तराई–मधेशमा एमाले नागरिकता विरोधी हो भनी भ्रम छर्न मात्रै ल्याएको दावी गरेका छन् । 

जनता समाजवादी पार्टीका सांसद तथा नेताहरूलाई एमालेमा स्वागत गर्न उक्त पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा स्वागत गर्दै गठबन्धनमा रहेका दलहरूले एमालेका विरुद्धमा भ्रम छर्न सक्ने हुँदा तराई–मधेशका नेता कार्यकर्ताहरूले त्यसलाई चिर्ने काम गर्नुपर्ने बताए ।

Advertisement

एमालेले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनुपर्छ भन्ने मान्यता राख्ने बताउँदै ओलीले त्यसका लागि यसै संसदबाट नागरिकता विधेयक संशोधन गर्ने हो भने अझै पनि समय रहेको बताए। 

उनले गठबन्धन सरकारलाई नागरिकताको समस्या समाधान गर्न नचाहेको बताए । यदी जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने नै हो भने संसदमा दुई लाइनको संशोधन ल्याउनुपर्ने र यसै संसदबाट पास गर्न सकिने ओलीको तर्क छ ।

उनले आफ्नो नेतृत्वको सरकारका पालामा अध्यादेशमार्फत उक्त व्यवस्था गरी नागरिकता वितरण भइरहेको समयमा अदालतले नागरिकता वितरण रोक्न आदेश गरेको बताए । ओलीले गठबन्धनले ल्याएको नागरिकता विधेयकमा राष्ट्रपतिले केही विषयमा पुनर्विचार गर्न भनी संसदमा फिर्ता पठाउँदा विधेयक संसदमा नपुग्दै संविधानले नचिन्नेहरू भेला भएर ‘बाउन्सर’ शैलीमा पुनर्विचार गर्दैनौं भनेको र तिनैमध्येका एकले अहिले राष्ट्रपतिले राजीनामा दिनुपर्ने भन्न थालेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई औंल्याउँदै उनले प्रश्न गरे, ‘दुुईतिहाईको आफ्नै सरकार ढाल्ने, देश अधोगतितिर लैजाने, देश लुट्ने प्रतिगामी तत्वहरूले राजीनामा दिनुनपर्ने, राष्ट्रपतिले राजीनामा दिनुपर्ने ?’ बहुमतका आधारमा भोलि जनतालाई जवाफ दिननपर्ने ‘बाउन्सर’ खालका मान्छेलाई यो–यो काम गर्ने भनी करारनामा गराई कानुनमन्त्री बनाइएको र उसले जनताबाट निर्वाचित जनप्रतिनिधिलाई पाठ सिकाउने गरेको ओलीको गुनासो थियो ।

उनले आफ्नो नेतृत्वको सरकारले तराई–मधेशमा हुलाकी राजमार्ग निर्माणलाई गति दिएको, पूर्वपश्चिम राजमार्गबाट सबै जिल्ला सदरमुकाम जोड्ने सडक छ लेनमा विस्तार गर्ने काम भएको, जनता आवास कार्यक्रम शुरु गरी विपन्न घरवारविहीनलाई आवासको व्यवस्था गरेको, फुसका छाना हटाई अनुदानमा जस्तापाता उपलब्ध गराउने काम गरेको, जनकपुरसम्म रेलमार्ग निर्माण गरी सञ्चालनमा ल्याउने काम गरेको देखाउँदै वर्तमान गठबन्धन सरकार गठन भएको १३ महिनामा देश अधोगतितर्फ गइरहेको, सबै आर्थिक सूचकाङ्क नकारात्मक रहेको, महंगी, मुद्रास्फीतिका कारण जनताको जीवन कष्टकर बनेको र यही गठबन्धन रही रहँदा देश बर्बादीतर्फ जाने भएकाले देशलाई त्यसदिशामा जानबाट रोक्ने जिम्मेवारी एमालेको काँधमा आएको बताए ।

कुनै नीति र गन्तव्य नभएको गठबन्धन लोकतन्त्रका लागि होइन, लुटतन्त्रका लागि काम गरिरहेको र राज्यसत्ता कब्जा गरेर विरोधीलाई सखाप पार्ने उद्देश्यमा केन्द्रित रहेको ओलीको आरोप छ । उनले देशमा लुटतन्त्र अन्त्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई बहुमतका साथ विजयी गराउनुपर्ने बताए । 

Advertisement

Advertisement