प्रधानन्यायाधीश जबरा असोज २ मा कार्यालय फर्किने भएपछि उनका विरोधीहरु तनावमा

Advertisement

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा असोज २ मा कार्यालय फर्किने भएपछि उनका विरोधीहरुमा तनाव बढेको छ । जबराले महाभियोग समितिमा नाम पोलेका व्यक्तिहरुको अभिव्यक्ति र क्रियाकलाप हेर्दा त्यो छटपटी देखिन्छ । 

जबराले नाम लिएका विभिन्न कानुन व्यवसायीलाई समितिले बिहीबार बोलाएर सोधपुछ गरेको थियो । न्यायालयमा लामो समयदेखि जबरजस्त पकड बनाए पनि जबरा आएपछि पकड गुमाउँदै गएका वरिष्ठ अधिवक्ता शम्भु थापाले जबरालाई विभिन्न आरोप लगाउँदै आलोचना गरिरहेका छन् । 

Advertisement

बयानका क्रममा जबराले न्यायालयभित्र हुने बेथिति र नाङ्गो राजनीतिक हस्तक्षे उदाङ्ग गर्दै त्यसमा संलग्नहरुको नामसमेत लिएपछि उनका विरोधीहरुमा तनाव बढेको बेला जबरा असोज २ गते कार्यालय फर्किने कुराले झन उनीहरु थप चिन्तित बनेका छन् । 

जबरा कसैसँग नडराउने र सम्झौता पनि नगर्ने स्वभावक भएकाले पनि उनका विरोधीहरुमा त्रास बढेको हो । सोही कारण उनीहरु सकेसम्म जबरालाई कार्यालय फर्किन नदिने प्रयासमा देखिन्छन् । समितिको बैठकमा आज थापाले एउटा राजनीतिक दलको विश्वास जितेर महाभियोग पास हुँदैन भन्ठानेर जबराले जथाभावी बोलेको आरोप लगाए । 

उनले निलम्बित प्रधानन्यायाधीश जबराले फेरि अर्को चाल चल्दै गरेको अरोप  लगाउँदै भने, ‘अर्को चाल चल्दैछन् चतुर प्रधानन्यायाधीश जबरा । एउटा राजनीतिक दलको विश्वास जितेर महाभियोग लाग्दैन् । पास हुँदैन भन्ठानेर यत्रोविधि गरिरहेका छन् ।’

जबरालाई भ्रष्टाचार र चलखेलबाट न्यायाधीश भएको थापाको उल्टै आरोप थियो । थापामाथि सेटिङमा फैसला गराउने र करोडौं रुपियाँ अशुल गर्ने तर कर नतिर्ने गरेको आरोप लाग्दै आएको छ । प्रकाश वस्तीसहितलाई बिदा गरेर सर्वोच्च खाली भएपछि जबरा न्यायाधीशमा नियुक्त भएको थापाको जिकिर छ । तर जबरालाई न्यायाधीश बनाउन भूमिका खेल्ने तत्कालिन कानुनमन्त्री नरहरि आचार्यले ठूला भनिएका वकिलहरु न्यायाधीश बन्न नमानेपछि जबरालाई न्यायाधीश बनाइएको आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । 

महाभियोग मुद्दा भएकाले संसद् नभए पनि पछि आउने अर्को संसद्‌ले यसलाई हेर्ने तर्क गर्दै थापाले फलानोले यस्तो गर्‍यो ! उस्तो गर्‍यो भन्नु मानहानी भएको तर्क गरे  । जबरा कार्यालय आए आफूले बहस नगर्ने उनको भनाई थियो । समितिले बोलाएको बैठकमा थापासहित नेपाल बार एशोसियशनका वर्तमान र पूर्वपदाधिकारी पुगेका थिए । 

आजै जबराका आलोचक पूर्वप्रधानन्यायाधीशहरुले पनि वक्तव्य जारी गर्दै उनको आलोचना गरेका थिए । आफूहरु महाभियोग समितिको बैठकमा नजाने अडान राख्दै मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्कीले महाभियोग लागेका व्यक्तिले कसैउपर दाबी वा अभियोग लगाउन नसक्ने तर्क गरेका छन् । यसअघि बुधबार पूर्वन्यायाधीशहरुको संस्थामार्फत पत्रकार सम्मेलन गरेर जबराको आलोचना गर्ने काम भएको थियो । 

Advertisement

Advertisement