महाभियोग प्रस्ताव स्वतः निष्क्रिय भएसँगै जबरा आज कार्यालय फर्किंदै, सर्वोच्चमा खबर पुग्यो

Advertisement

काठमाडौं । आफूविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आज आइतबार कार्यालय जाने तयारी गरेका छन् । त्यसका लागि उनले सर्वोच्च अदालतमा खबरसमेत गरेका छन् । 

जबरालाई रोक्न उनका विरोधीहरुले अझै पनि सक्रिय प्रयास गर्दै आएका छन् । तर निडर र सम्झौता नगर्ने स्वाभावका जबरा पछि नहट्ने तयारीमा लागेका हुन । उनले शनिबार राति नै सर्वोच्चमा आफू आज कार्यालय आउने जानकारी पठाएका हुन् । केही कानुन व्यवसायी र सर्वोच्चका केही न्यायाधीशहरुसँगको सल्लाहपछि जबरा आजबाट कार्यालय जाने तयारी गरेको उनीनिकट स्रोतले बतायो । 

Advertisement

शनिबार महाभियोग सिफारिस समितिले विवादका बिच जबरालाई महाभियोग लगाउन संसदलाई सिफारिस गरेको थियो । तर संसदको अन्त्य राति नै १२ बजे अन्त्य भएसँगै जबराविरुद्धको महाभियोग प्रस्ताव पनि स्वतः निष्क्रिय भएकाले उनी आज कार्यालय जाने आधार बनेको हो । 

आइतबारदेखि नियमित काममा आउने बताउँदै जबराले आवश्यक तयारी गर्न कामु मुख्य रजिस्ट्रार नारायण पन्थीलाई खबर गरेका थिए । महाभियोग प्रस्ताव ढिलो गरी सुरु गरिएकाले र महाभियोग प्रस्ताव संसदमा पेश गर्नुअघि नै हतारमा निलम्बनको पत्र दिएसँगै यस प्रक्रियामा यसअघि नै प्रश्न उठेको थियो । तर पनि सत्ता गठवन्धन दलहरुले निर्वाचन घोषणा गरेपछि महाभियोग प्रस्तावलाई अघि बढाउने निर्णय गरेका थिए । 

महाभियोग सिफारिस समितिले बयान लिने क्रममा प्रधानन्यायाधीश जबराले न्यायालयभित्रका बेथिति, वकिलहरुको गिरोहबाट हुने गलत धन्दा, राजनीतिक हस्ताक्षेप, न्यायाधीश नियुक्तिमा हुने चलखेलका कुराहरु उदाङ गरेपछि उनीप्रति जनताको सहानुभूति बढेको थियो । 
 

Advertisement

Advertisement