पूर्वराष्ट्रपतिको वर्तमानलाई आरोप– भण्डारीको यो दोस्रो संविधान उल्लङघन हो

Advertisement

काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्या भण्डारीले संविधान उलङ्घन गरेको आरोप लगाएका छन् । 

राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरी राष्ट्रपति भण्डारीले सो विधेयक प्रमाणिकरण नगरेर संविधानको उलङ्घन गरेको यादवको भनाई थियो । 

Advertisement

बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा उनले प्रतिनिधिसभा विघटन गरेर पहिलो चोटी संविधान उलङ्घन गरेकी भण्डारीले विधेयक प्रमाणिकरण नगरेर फेरि संविधान उलङ्घन गरेको आरोप लगाए । दोस्रो पटक पनि संसदको दुवै सदनले पारित गरेर पठाएको सो विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणिकरण हुनबाट रोक्न मिल्ने अवस्था नै नरहेको यादवको तर्क छ । 

उनले बेलायत, भारत, अमेरिकालगायतका लोकतान्त्रिक मुलुकहरुको परम्परा र संविधानविद् तथा कानुनविद्हरुसँग परामर्श गरेर सो विधेयकलाई प्रमाणिकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीप्रति असन्तुष्टि पोखे । यादवले राष्ट्रपतिले सो विधेयक प्रमाणिकरण नगरेर नेपालको लोकतन्त्रमै कालो बादल मडारिएको उल्लेख गरे । 

पूर्वराष्ट्रपति यादवले नेपाली जनताले फेरि पनि संविधान बचाउन पहल गर्नुपर्ने बताए । उनले राष्ट्रपति भण्डारीको यो कदम पनि नसच्चिए फेरि मुलुकमा प्रतिगमन हुने बताए । 

Advertisement

Advertisement