हामीले किसान, मजदुर, सुकुम्वासी, उत्पीडित वर्गलाई आन्दोलित गराइराख्नुपर्छः प्रचण्ड

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको संरक्षकबाट संविधान मिचिएको बताएका छन् । शुक्रवार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को कार्यक्रममा उनले संविधानको पालक र संरक्षकले नै खुलेआम संविधान मिच्ने काम गरेको बताएका हुन् । 

प्रचण्डले संरक्षकबाट नै जानिबुझि संविधान मिच्नु सामान्य कुरा नभएको भन्दै प्राप्त भएका उपलब्धीहरु खोस्ने षड्यन्त्रको रुपमा रहेको आरोप लगाउँदै देशमा प्रतिगमनको षड्यन्त्र गत वर्षदेखि शुरु भएको र हालसम्म नरोकिएको बताए । आफूहरुले सतर्कता गुमाएमा तथा एकतालाई कमजोर पारेमा कुनै पनि दिन प्रतिगमन हुनसक्ने उनले बताए । 

Advertisement

प्रचण्डले भने, ‘म भन्न चाहान्छु कुरा धेरै गहिरो छ । जुन प्रतिगमनको षड्यन्त्र गत सालदेखि शुरु भएको छ, त्यो रोकिएको छैन । त्यो नयाँ–नयाँ रुपमा फेरि अगाडी ल्याउने जमर्को भइराखेको छ । हामीले आफ्नो सतर्कता गुमायौँ भने, हामीले हामी भित्रको एकतालाई कमजोर हुन दियौँ भने, हामीले आम किसानहरु, मजदुरहरु, सुकुम्वासीहरु, सम्पूर्ण उत्पीडित वर्ग, समुदायलाई आन्दोलित गरिराख्ने, जागरुक गरिराख्ने, संगठित गरिराख्ने आफ्नो अभियानलाई रोक्यौँ भने कुनै पनि दिन प्रतिगमन हुनसक्ने खतरा छ । मैले यो कुरा अमूर्त कुरा गरेको होइन । मैले मूर्त रुपमा भन्दैछु ।’ 

उनले प्रतिगमनको फणाहरु उठेको भन्दै परिवर्तनको रक्षाका लागि सडकमा जानुपर्ने आवश्यकता रहेको बताए । प्रचण्डले भने, ‘नागरिकता विधेयक जन्मसिद्ध नागरिक भएका आमा बाबुका छोराछोरीहरुले नागरिकता प्राप्त गर्नुपर्छ भन्ने विधेयकलाई प्रमाणीकरण नगर्ने कसरतभित्र पनि यो संविधान र यो परिवर्तनलाई कहीँ न कहीँ यसमाथि प्रहार गर्ने नियोजित प्रयासहरु भइराखेका छन् । सबै एकजुट भएर आवाज नउठाउने हो भने सडकमा नजाने हो भने प्रतिगमनका यी फणाहरु अहिले जो फेरि उठ्न थालेका छन्, त्यसले डस्नसक्छ परिवर्तनलाई । त्यसको रक्षाको लागि एकतावद्ध भएर अगाडी बढ्ने आजको लागि ज्वलन्त आवश्यकता हो ।’

एकथरी मानिसहरुले प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप हालेर बसेको आरोप लगाउँदै उनले प्रचण्ड अस्थिरताको कारण हो भन्ने प्रचार गरिएको बताए । 

Advertisement

Advertisement