कुलमानलाई चुनाव उठ्न प्रचण्डको दबाब, कुलमान भने आनाकानी गर्दै

Advertisement

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई काठमाडौंबाट चुनाव उठ्न दबाब दिएका छन् । 

आफ्नो पार्टीको पहलमा दुई पटक प्राधिकरणको कार्यकारी निर्देशक भएका घिसिङलाई चुनाव लडाएर काठमाडौंमा कम्तिमा एक सिट भए पनि जित्ने लक्ष्य माओवादी केन्द्रको रहेको छ । 

Advertisement

तर माओवादी केन्द्रबाट चुनाव लड्ने समाचार बाहिर आएसँगै आम जनताले भने घिसिङलाई चुनाव नलड्न सल्लाह दिएका छन् । जनमत आफू चुनाव नलडोस भन्ने पक्षमा भएपछि घिसिङ केही हच्किएको उनीनिकट स्रोतले बतायो । 

यसअघि प्रचण्डले कुरा गर्दा घिसिङले चुनाव लड्ने कुरामा  सकारात्मक जवाफ दिए पनि पछिल्लो समय भने उनी चुनाव लड्ने मनस्थितिमा देखिन्न । तर प्रचण्ड भने घिसिङलाई चुनाव लडाएर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा देखिएको जनलहरलाई चुनौति दिने योजनामा छन् । घिसिङलाई चुनाव लडाउन सकिए काठमाडौंमा सजिलै एक सिट माओवादीको पक्षमा आउने उनको विश्वास देखिन्छ । 

प्रचण्डले काठमाडौं क्षेत्र नम्बर २ वा ३ बाट घिसिङलाई चुनाव उठाउने सोच बनाएका छन् । तर लोडसेडिङ न्यूनीकरण गरेको भनेर छुट्टै पहिचान बनाएका घिसिङ ठूला राजनीतिक दलको दलदलमा फँस्न नहुने जनमत बढी देखिन्छ । सामाजिक सञ्जालमा अधिकांशको प्रतिक्रिया सकेसम्म घिसिङ चुनाव नलडुन भन्ने रहेको छ । 

यो खालको जनमतका कारण कतै चुनावमा पराजित भइन्छ कि भन्ने चिसो समेत घिसिङमा पर्न थालेकाले उनी चुनावदेखि हच्किएका हुन् । चुनाव हार्दा प्राधिकरणको जागिर पनि जाने र आफूले अहिलेसम्म बनाएको इमेज पनि खस्किने भएपछि उनी केही सतर्क बनेका हुन् । 

यसअघि काठमाडौं ३ बाट उनलाई प्रचण्डले उठाउन योजना बनाए पनि काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उठ्ने भएपछि लामिछानेलाई उनलाई विजयी हुन नदिन घिसिङलाई सो क्षेत्रमा प्रस्तुत गर्न लागिएको हुनसक्ने अडकल गरिएको छ । 

Advertisement

Advertisement