काठमाडौं । राष्ट्रियताका पक्षमा खरोरुपमा प्रस्तुत हुँदै आएकी दाङकी नेतृ गंगा सत्गौवा थारू (चौधरी)ले नेकपा एमाले परित्याग गरेकी छन् । साथै, उनले स्वतन्त्ररुपमा उम्मेदवार दिने घोषणा पनि गरेकी छन् ।
दाङ क्षेत्र नं. १ बाट एमाले अध्यक्ष केपी ओलीलाई शान्ता चौधरीलाई टिकट दिने भएपछि गंगाले एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उनले सामाजिक सञ्जालमा लेख्दै स्वतन्त्र उम्मेदवारी दिन लागेको बताएकी हुन् ।
गंगा चौधरीले भनेकी छिन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक, मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु । जनता भगवान हुन् जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु । हजुरहरुको साथ चाहिएको छ ।’
यसअघि दुई पटक समानुपातिक सांसद भएकी उनी अहिले प्रत्यक्ष चुनाव लड्ने तयारीमा थिइन् ।